प्रहरी वृत्त थिमीलाई ट्यांकी हस्तान्तरण

0
Shares

नेपाल समाचारपत्र, भक्तपुर।महानरीय प्रहरी वृत्त मध्यपुर थिमीलाई मानवीय आस्था नेपाल सूर्य विनायक भक्तपुरकोे सहयोगमा ६४ हजार मूल्य बराबरको वाटर प्लान्ट तथा ट्यांकी हस्तान्तरण गरिएको छ।

समुदाय–प्रहरी साझेदारीअन्तर्गत प्रहरी कर्मचारी र कार्यालयमा आउने सेवाग्राहीका लागि शुद्ध खानेपानीको व्यवस्था गर्ने उद्देश्यले उक्त सामग्री हस्तान्तरण गरिएको हो।
पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सदस्य महेश बस्नेतले वाटर प्लान्ट तथा ट्यांकी प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालालाई हस्तान्तरण गर्नुभयो।

सांसद बस्नेतले प्रहरी र समुदायको कार्य र सम्बन्ध अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो– ‘हनुमन्ते सरसफाइ अभियानलगायत विभिन्न अभियानमा जनतासँग साझेदारी गरेका हौं। यसका साथै भक्तपुरमा लागूऔषध दुव्र्यसन, विभिन्न क्षेत्रमा हुने चोरी नियन्त्रण गर्ने, शान्ति सुरक्षा कायम गर्नुपर्ने, सडक दुर्घटना र घरायसी हिंसा नियन्त्रण गर्ने चुनौतीको विषय रहेको छ।’

प्रहरी र समुदायबीचको सम्बन्ध एकदमै राम्रो रहेको बताउँदै यस सम्बन्धलाई भड्काउनका लागि केहीले अभियान ल्याएको तर त्यस्तो अभियानमा युवाहरू सहभागी हुन नहुने भन्दै प्रहरीलाई र समुदायलाई सहयोग गर्न अनुरोध गर्नुभयो।

कार्यक्रममा प्रहरी नायब उपरीक्षक कोइरालाले वृत्तमा रहेका साढे दुई सय प्रहरी कर्मचारी र दैनिक आउने सयभन्दा बढी सेवाग्रहीलाई स्वच्छ खानेपानीका निमित्त मानवीय आस्था नेपालले सहयोग गरेकोमा धन्यवाद दिनुभयो।