नेपाल समाचारपत्र, काठमाडौं। सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले एपीएफ कमान्ड तथा स्टाफ कलेजमा सञ्चालन हुने पाँचौं एपीएफ कमान्ड तथा स्टाफ कोर्सको आइतबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा एक समारोहबीच उद्घाटन गर्नुभयो।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा मध्यमस्तरका अधिकृतको नेतृत्व क्षमता विकास गरी नेतृत्वदायी भूमिका तथा सुरक्षा चुनौतीलाई विश्लेषण गरेर अगाडि बढ्न यो कोर्सले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो। उहाँले मुलुकले चाहेजस्तो अधिकृत उत्पादन गर्न यो कोर्सले सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
संगठनलाई प्राप्त जिम्मेवारी पूरा गर्न एपीएफ अधिकृतहरूलाई यस कोर्सले थप ज्ञान प्रदान गर्ने चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले सुरक्षा संगठनमा यस किसिमको कोर्सको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो।
त्रिभुवन विश्वविद्यालयका मानविकी तथा सामाजिक शास्त्र संकायका सहायक डीन डा. गोपाल धौवञ्जरले यस्ता कोर्सले सहभागी अधिकृतहरूलाई व्यावसायिक ज्ञान अभिवृद्धि गर्न सघाउ पुर्याउने बताउनुभयो।
उहाँले यस्ता कोर्सले सीमा सुरक्षा, औद्योगिक सुरक्षालगायतका विभिन्न क्षेत्रमा ज्ञानमा अभिवृद्धि गर्न मद्दत पुग्ने तथा सुरक्षा चुनौतीलाई सामना गर्न सघाउ पुग्ने उल्लेख गर्नुभयो।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौती तथा सुरक्षा रणनीति, द्वन्द्व व्यवस्थापन, संयुक्त राष्ट्रसंघीय पद्धति, नेतृत्व र विकास, सीमा भन्सार तथा औद्योगिक सुरक्षा, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा, विपद् व्यवस्थापनलगायत सुरक्षा, विकास र शान्तिलगायतका विविधि विषयहरू उक्त एपीएफ कमान्ड तथा स्टाफ कोर्समा समेटिएको कुरा सो समारोहमा जानकारी गराइएको थियो।
उक्त कोर्स एक वर्ष ६ महिना अवधिको रहेको छ। सो कोर्समा सशस्त्र प्रहरी बल, नेपालबाट १९ जना तथा राष्ट्रिय अनुसन्धान विभागबाट एक जनाको सहभागिता रहने भएको छ।











प्रतिक्रिया