मापदण्डविपरीत बनेका भवन अधिग्रहण गर्न सुझाव

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।महत्वपूर्ण सरकारी कार्यालय परिसरमा बनेका निजी भवनले सुरक्षा संवेदनशीलता बढाएको भन्दै गृह मन्त्रालयले गठन गरेको अध्ययन समितिले प्रतिवेदन मन्त्रालयमा बुझाएको छ।

प्रशासनिक क्षेत्रमा बनेका ठूला भवनका सम्बन्धमा अध्ययन समितिले तयार पारेको प्रतिवेदनका आधारमा कारबाही अगाडि बढाउने निर्णय गृह मन्त्रालयले गरेको छ।अध्ययन समितिले बन्दै गरेका त्यस्ता भवन बनाउन रोक लगाउने वा अधिग्रहण गर्ने तथा बनिसकेका भवन आवश्यक प्रक्रिया पूरा गरी अधिग्रहण गर्न सिफारिस गरेको थियो।

अध्ययन समितिको प्रतिवेदनपछि आइतबार गृहमन्त्रालयमा गृहमन्त्री, गृह सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अनुसन्धान विभागका प्रमुख, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुखलगायतको उपस्थितिमा बैठक बसेको थियो।

विशेष गरी अध्ययन समितिले राष्ट्रपति कार्यालयअगाडि बन्दै गरेका सीई रियल स्टेटलाई निर्माणमा रोक लगाई अधिग्रहण गर्ने तथा सिंहदरबार दक्षिण गेट, राष्ट्रिय अनुसन्धान विभागअघि बनेको इमिरो प्लाजा मापदण्ड विपरीत देखिएकाले आवश्यक कारबाही गरी अधिग्रहण गर्ने सिफारिस गरेको छ।