काठमाडौं, (नेस)। आफूलाई नेपाल कम्युनिस्ट पार्टी नेकपा विप्लव कार्यकर्ता भन्दै सरकारी कार्यालयबाट रकम असुल्ने तीन पत्रकार पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका–७ घर भई बानेश्वर बस्ने विश्वराज शर्मा, झापा भद्रपुर नगरपालिका–८ घर भई भक्तपुरको गठ्ठाघर बस्ने सुवास कोइराला र काठमाडौं काँडाघारी बस्ने सोही ठाउँका शुभम घिमिरे रहेका छन्।
उनीहरूले नेपालका विभिन्न सरकारी कार्यालयका प्रमुखलाई नेकपा विप्लव समूहको काठमाडौं जिल्ला इन्चार्ज हुँ भन्दै धम्क्याउने गरेको महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार उनीहरूले घरमा बम पड्काउनेदेखि ज्यानमार्नेसमेत धम्की दिने गरेका थिए।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले कोइरालालाई आइतबार पक्राउ गरेको हो भने अन्य दुई जनालाई शुक्रबार पक्राउ गरेको थियो।प्रहरीले कोइरालाको साथबाट जनध्वनि साप्ताहिकको सम्पादक भएको परिचय–पत्रसमेत बरामद गरेको छ।
उनीहरूलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ। पक्राउ परेका तीन जना नै पत्रकार भएको बुझिएको छ।











प्रतिक्रिया