नेपाल समाचारपत्र, काठमाडौं। मेडिकल कलेजहरूको विवादको विषयमा अध्ययन गर्न गठित उपसमितिले प्रतिवेदन तयार गरेको छ। प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत गठित मेडिकल कलेजहरूको शुल्क विवादलगायतका विषयमा अध्ययन गर्न गठित उपसमितिले आफ्नो प्रतिवेदन तयार गरेको हो।
उपसमितिका संयोजक सुरेशकुमार रार्ईले समितिका सभापति जयपुरी घर्तीलाई आइतबार प्रतिवेदन हस्तान्तरण गर्नुभयो। संयोजक राईले प्रतिवेदन हस्तान्तरण गर्दै उपसमितिले विभिन्न २२ वटा मेडिकल कलेज, त्रिभुवन विश्वविद्यालय, काठमाडाँै विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक संघलगायत सम्बद्ध संस्थाका प्रमुखसित छलफल गरेको अवगत गराउनुभयो।
उपसमितिले मेडिकल कलेजहरूलाई तोकिएभन्दा बढी शुल्क लिन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नै मौखिक सहमति दिएको निष्कर्ष निकालेको छ। समितिले शिक्षा मन्त्रालयले कुन नियत र उद्देश्यले त्यस प्रकारको गम्भीर कमजोरी गरेको हो सोको स्पष्टीकरण लिन मन्त्रिपरिषद्लाई निर्देशन दिने निर्णय पनि गरेको छ।
समितिले नै चर्को शुल्क लिन दिनुको पछाडि शिक्षा मन्त्रालयकै संलग्नता रहेको निष्कर्ष निकालिएको छ। त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका पदाधिकारीहरूले निहित स्वार्थका पदीय दुरूपयोग गरी मेडिकल कलेजको शुल्क वृद्धिमा संलग्न भएको भन्दै समितिले दुवै विश्वविद्यालयका पदाधिकारीलाई पनि कारबाही गर्न निर्देशन दिएको छ।
मन्त्रिपरिषद् बैठकको २०७५ असोज २६ गतेको निर्णयअनुसार मेडिकल कलेजहरूले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तह र एमबीबीएसका लागि एक जना विद्यार्थीसँग उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ४५ हजार शुल्क मात्रै लिन पाउँछन्।
तर, मेडिकल कलेजहरूले तोकिएभन्दा दोब्बर शुल्क लिँदै आएका छन्। उपसमितिले तयार पारेको यो प्रतिवेदन मूल समितिबाट पारित भए पनि औपचारिक रूपमा भने सार्वजनिक गरिएको छैन। समितिका सभापति जयपुरी घर्तीले केही भाषागत विषय मिलाएर प्रकाशित गर्ने बताउनुभयो। समितिले प्रतिवेदनमार्फत काठमाडौं विश्वविद्यालयका तत्कालीन उपकुलपति, रजिस्ट्रार तथा डीनसमेतलाई प्रचलित कानुनअनुसार कारबाही गर्न शिक्षा मन्त्रालयमार्फत सरकारलाई निर्देशन दिएको छ।
२६ चैत्र २०७५ बसेको समितिको बैठकले समितिका सदस्य सुरेशकुमार राईको संयोजकत्वमा गठित सो उपसमितिका सदस्यमा उमेश श्रेष्ठ, एकबाल मियाँ, खगराज अधिकारी, चित्रलेखा यादव, जीवनराम श्रेष्ठ, मनकुमारी जिसी, सन्तकुमार थारू र योगेशकुमार भट्टराई रहनुभएको थियो।











प्रतिक्रिया