इन्द्रजात्रामा विदेशी पाहुना चन्द्रागिरी र तीन दरबारक्षेत्र घुम्ने

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं।यस वर्षको इन्द्रजात्राको अवलोकन गर्न महानगरको भगिनी सम्बन्ध भएका ६ वटा देशका १३ वटा अन्तर्राष्ट्रिय नगरबाट ५ जना मेयरसहित ४८ जना पाहुना आउने निश्चित भएको छ। उनीहरूका लागि कामपाले उच्च सम्मान दिने भएको छ।

विदेशी पाहुनाले हनुमानढोका, पाटन र भक्तपुर दरबारक्षेत्र अवलोकन गर्ने भएका छन्। त्यस्तै चन्द्रागिरीको केवलकार चढेर उपत्यका अवलोकन गर्ने कार्यक्रम तय भएको छ। यो वर्षको इन्द्रजात्रा भदौ २७ गते परेको छ। इन्द्रजात्राको अघिल्लो दिन अर्थात् २६ गते सबै विदेशी पाहुना नेपाल आइपुग्नेछन्।

पाहुनालाई महानगरका मेयर विद्यासुन्दर शाक्यले स्वागत गर्ने कार्यक्रम रहेको छ। लगत्तै सोही दिन सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको कामपाले जनाएको छ। कार्यक्रममा कामपाका मेयर, उपमेयर, वडा अध्यक्ष, सदस्यलगायतका जनप्रतिनिधिको सहभागिता रहने भएको छ।

कामपाका मेयर विद्यासुन्दर शाक्यले इन्द्रजात्रालाई विश्वव्यापी बनाउन कामपासँग भगिनी सम्बन्ध भएको शहर र संस्थाका मेयर र प्रमुखलाई पहिलोपटक काठमाडौं बोलाइएको जानकारी दिनुभयो। कार्यक्रम तालिकाअनुसार भदौ २७ गते बिहान होटलबाट महानगरको भित्री शहर अवलोकन गराइनेछ। काठमाडौको सांस्कृतिक नगरको परिचय गराउँदै सिटी टुर गराएलगत्तै ठमेलमा खाना खुवाउने कार्यक्रम राखिएको छ।

सोही दिन विशेष सम्मानका साथ इन्द्रजात्रा अवलोकन गराउने कार्यक्रम रहेको छ। राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीलगायत उच्च पदस्थ अधिकारी सहभागी हुने कार्यक्रममा विदेशी पाहुनालाई विशेष सम्मान दिने कार्यक्रम तय भएको छ। इन्द्रजात्राको मुख्य दिन सबै पाहुनाले जीवित देवी कुमारी, भैरव र गणेशको दर्शन गर्ने कार्यक्रम रहेको छ।

इन्द्रजात्रा अवलोकन गर्न आएका विदेशी पाहुनालाई यही २८ गते चन्द्रागिरी भ्रमण गर्ने कार्यक्रम तय भएको छ। केवलकार चढेर चन्द्रागिरी पुग्ने अतिथिलाई सोही क्षेत्रको स्थानीय निकायका जनप्रतिनिधिले स्वागत गर्ने कार्यक्रम रहेको कामपाले जनाएको छ।

सोही दिन स्वयम्भू स्तूपा र म्युजियम अवलोकन गर्ने कार्यक्रम तय भएको छ। सो कार्यक्रमको व्यवस्थापन वडा नम्बर १५ ले गर्ने कामपाले जनाएको छ।कामपा अन्तर्राष्ट्रिय सम्बन्ध महाशाखा प्रमुख महेश काफ्लेले भ्रमणको तयारी भइरहेको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘विदेशीलाई उपत्यकाको संस्कृति र इन्द्रजात्राको बारेमा जानकारी गराउन पहिलोपटक कार्यक्रम आयोजना गरिएको हो।’ सोही दिन पाटन र भक्तपुर दरबारक्षेत्र अवलोकन गर्ने कार्यक्रम छ। पाहुनाले भक्तपुर दरबारक्षेत्रमा खाना खानेछन्।

लगत्तै पाटन दरबारक्षेत्र अवलोकन गर्ने कार्यक्रम छ। पाटन र भक्तपुर दरबार क्षेत्रमा सोही क्षेत्रका मेयर, उपमेयर र जनप्रतिनिधिले स्वागत गर्ने कार्यक्रम रहेको कामपाले जनाएको छ। भ्रमणको टोलीका सदस्यलाई भदौ ३० गते बिदाइ गर्ने कार्यक्रम छ।

कामपाले गएको ७ महिनादेखि भगिनी सम्बन्ध भएका नगर प्रमुखहरूलाई निमन्त्रणा पठाउन थालेको थियो। निम्तो मान्न चीनको ल्हासाका मेयर गुहेओ, चीनकै सियान, छेन्दु, सेन्जेन, नान्जिन र लान्चाउ नगरका प्रतिनिधि, बंगालादेशको ढाका साउथ सिटी कर्पोरेसनका मेयर मोहम्मद सहिद खोकन, भुटानको थिम्पु नगरका मेयर किन्ले दोर्जे, भारत इस्ट दिल्ली म्युनिसिपल कर्पोरेसनका मेयर अञ्जु कमलकान्त र नर्थ दिल्ली म्युनिसिपलबाट मेयर सरदार अभतार सिंहको नेतृत्वमा जात्रा अवलोकन टोली आउनेछ।

जापानको मात्सुमोतो नगर, संयुक्त राज्य अमेरिकाका फेडेरिकबर्ग र बोल्डर नगरबाट उच्च अधिकारीको नेतृत्वमा जात्रा अवलोकन टोली आउनेछ। यसरी आउने पाहुनाको संख्या ४८ हुनेछ।इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौत्तम शाक्यका अनुसार भाद्र २४ गते वसन्तपुरमा इन्द्रध्वज उत्थान गरेपछि इन्द्रजात्राका औपचारिक कार्यक्रम शुरू हुनेछन्।

यहाँ गाडिने लिङ्गो (इन्द्रध्वज) लिन हिजो १५ गते वनयात्रा शुरू भएको थियो। लिङ्गो लिन भक्तपुरको चित्तपोल गएर गुठियारहरूले भाद्र १६ गतेदेखि लिङ्गो तानेर ल्याउने काम गर्नेछन्। यसलाई असन ल्याएर नगर प्रवेश गराउने तथा बसन्तपुर कालभैरव अगाडि लगेर राखिनेछ। त्यसपछि २४ गते शुभ साइतमा लिङ्गो उठाइनेछ।

यसैबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विदेशी पाहुनालाई नेपाल भ्रमण वर्ष सन् २०२० बारेमा जानकारी गराउने कार्यक्रम रहेको छ। भदौ २९ गते राष्ट्रिय सभागृहमा आयोजना गरिने कार्यक्रममा मन्त्री भट्टराईले भ्रमण वर्षमा विदेशी पाहुनालाई नेपाल भ्रमण गराउने विशेष आग्रह र निम्तो दिने कार्यक्रम रहेको कामपाले जनाएको छ।

सोही दिन पाहुनालाई बिदाइ गर्ने कार्यक्रम रहेको छ। मन्त्री भट्टराईले नेपाल भ्रमण वर्षको उद्देश्यबारेमा जानकारी दिने कार्यक्रम रहेको छ। सोही दिन मेयर शाक्यले बिदाइ भोजको आयोजना गर्ने कार्यक्रम रहेको कामपाले जनाएको छ।