पसल फोरेर नगद चोरी गर्ने १ पक्राउ


सलिम अन्सारी,प्युठान। प्युठानको सरुमारानीमा पसल फोरेर रिचार्ज सहित नगद चोरी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको राप्ती गाँउपालिका वडा नं। १ खर्क बस्ने १८ बर्षीया धरम सोती मगर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिए ।

उनले बुधवार राती सरुमारानी गाउँपालिका ५ स्थित केश बहादुर दर्लामिको पसलको ताला फोडेर ६ हजार २५० को रिचार्ज कार्ड सहित जम्मा ७३ हजार २१४ रुपैया चोरी गरेका थिए। नायब उपरीक्षक कार्किका अनुसार बजारमा हिडिरहेका मगरलाई शंकाको आधारमा बिहिबार बिहान वड्डडाडाबाट पक्राउ गरिएको हो । प्रहरीले उनको साथबाट चोरी गरिएको नगद र रिचार्ज कार्ड समेत बरामद गरेको छ ।

केही दिनअघि सरुमारानी गाउँपालिकाको केन्द्र बड्डडाडा स्थित ऐरावती बहुउध्यशीय सहकारी संस्थाबाट एघार लाख भन्दा बढी लुटपाट भएको थियो ।

सहकारी चोरी गर्ने गिरोहलाइ भने प्रहरीले पक्राउ गर्न सकेको छैन।