लिस्नु कपका विजेतालाई ३ लाख पुरस्कार

0
Shares

नेपाल समाचारपत्र, भैरहवा।  रूपन्देहीमा हुने पुरानो प्रतियोगितामध्ये एक लिस्नु कप फुटबलको १९औं संस्करण यही भदौ २१ गते असोज ३ गतेसम्म आयोजना हुने भएको छ। प्रतियोगितामा प्रदेश ५ का रूपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ तथा गण्डकी प्रदेशको स्याङ्जा र प्रदेश नम्बर ३ को चितवन जिल्लासमेत सहभागी हुने आयोजक संस्था एवं क्लबका अध्यक्ष तीर्थराज मल्लले बताए।

जसमा आयोजक लिस्नु क्लब, नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार ठुटिपीपल, फूलबारी गाइज, फर्साटिकर फुटबल क्लब, फर्साटिकर, झरना स्पोर्टिङ क्लब, कुन्जलापुर, जय बुद्ध सामाजिक युबा क्लब शिवराज नगरपालिका, नवलपरासी ११ र देशभक्त युवा क्लब, यूएनबीएल एकेडेमी घोराही, वालिङ नगरपालिका तथा भरतपुर फुटबल क्लब र जु फुटबल क्लब रहेका छन्।

रूपन्देहीको कोटीहवास्थित पशुपति उच्च माविको मैदानमा हुने प्रतियोगिताको विजेताले ३ लाख ३ हजार ३ सय ३३ रुपियाँ पाउनेछ। उपविजेताले १ लाख ५५ हजार ५ सय ५५ रुपियाँ तथा सेमिफाइनलमा पराजित हुने टिमले जनही ५० हजार रुपियाँ प्राप्त गर्नेछन्।

विजेतालाई प्रदान गर्ने राशी क्याप्टेन कुलप्रसाद गुरुङले सौजन्य गरेको प्रतियोगिता संयोजक नेमप्रसाद गुरुङले बताए। गुरुङले आफना स्व. बुबा–आमा सिंहवीर गुरुङ र पवित्रा गुरुङको नाममा विजेतालाई पहिलो पुरस्कार रकम उपलब्ध गराउने भएका हुन्।

प्रतियोगिता सञ्चालनका लागि कुल १६ लाख ४३ हजार ८ सय ८८ रुपियाँ खर्च लाग्ने अनुमान रहेको प्रतियोगिताका आर्थिक संयोजक युवराज गुरुङले बताए।