पोखरामा महिला भलिबल शुरू

0
Shares

पोखरा, (नेस)।नव आदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा पोखराको लामाचौरमा शनिबारदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरू भएको छ।
लामाचौर तीज महोत्सव २०७६ को अवसरमा आयोजना भएको प्रतियोगितामा गण्डकी प्रदेश र न्यू—डाइमन्ड एकेडेमी काठमाडौंले विजयी शुरुआत गरेका छन्।

शनिबार भएको पहिलो खेलमा गण्डकी प्रदेशले पारामाउन्ट इंग्लिस बोर्डिङ स्कुल काठमाडौंलाई ३–० को सोझो सेटमा हरायो। दोस्रो खेलमा न्यु डाइमन्ड एकेडेमीले चितवन टाइगर्स क्लबलाई पनि सोझो सेटमै हराउँदै विजयी शुरुआत गरेको छ। न्यु डाइमन्डबाट सिपोरा गुरुङ मैदानमा उत्रिएकी थिइन्।

राष्ट्रिय खेलाडी गुरुङ खुट्टामा चोट लागेका कारण केही वर्षदेखि मैदान उत्रिएकी थिइनन्। प्रतियोगितामा विजेता टोलीलाई १ लाख १ सय ५५, उपविजेतालाई ६५ हजार ५ रुपियाँ र तेस्रो हुनेलाई २५ हजार ५ रुपियाँ प्रदान गरिनेछ।