क्लाइम्बिङमा विजय र पञ्चमाया पहिला


नेपाल समाचारपत्र, काठमाडौं।सातौं पर्वतीय खेलकुद महोत्सवको अवसरमा नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनद्वारा आयोजित नेसनल लिड क्लाइम्बिङ च्याम्पियनसिपमा विजय सुनुवार र पञ्चामया तामाङ पहिला भएका छन्।

शनिबार ठमेलको काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरमा सम्पन्न भएको प्रतियोगितामा ११ महिला र ३१ पुरुष गरी कुल ४२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। पुरुष र महिलातर्फ विजेता क्रमशः विजय र पञ्चमायाले समान २०/२० हजार नगद पुरस्कार प्राप्त गरे।

त्यस्तै पुरुषमा तेजिङ राई दोस्रो र प्रनिल श्रेष्ठ तेस्रो भए भने महिलातर्फ स्वस्तिका चौधरी दोस्रो र रुषा प्रधान तेस्रो भएका थिए। उनीहरूले क्रमशः १५ हजार र १० हजार नगद प्राप्त गरे। प्रतियोगितामा विजयी हुने खेलाडीलाई पहिलो प्राथमिकतामा राखी अब ६ महिनाभित्र हुने कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने अवसर दिइनेछ।

प्रतियोगितामा दुई विभागीय टिमको सहभागिता रहको थियो। यी विभागीय टोलीहरूमा नेपाली सेना र नेपाल स्काउटको चारुमती ओपन स्काउट ट्रुप र क्रु रहेका थिए। स्पोर्ट क्लाइम्बिङ खेलका मुख्य तीन विधाहरू लिड क्लाइम्बिङ, बोल्डरिङ र स्पिड क्लाइम्बिङमध्ये संघले लिड क्लाइम्बिङ च्याम्पियनसिप गर्न गइरहेको हो। प्रतियोगिताको अनुमानित लागत ८ लाख ७५ हजार रुपियाँ रहेको छ।