सुर्खेतमा बेवारिसे छोडेका गाई फिर्ता पठाइयो

0
Shares

दीपेन्द्र शर्मा, सुर्खेत। सुर्खेतमा बेवारिसे छाडिएका गाई नेपालगन्ज फिर्ता पठाइएको छ। सुर्खेत–दैलेख सडक खण्डअन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ कटकुवाको जङ्गलमा बेवारिसे छाडिएका गाईलाई पुनः नेपालगन्जतर्फ पठाइएको छ।
शुक्रबार बिहान ३ बजेतिर वीरेन्द्रनगर–१४ पर्ने कटकुवा जङ्गलमा २ सय ९१ गाईगोरु अलपत्र अवस्थामा छाडिएको थियो। नेपालगन्जवाट सुर्खेत हँुदै दैलेख पु¥याउने भनी रातारात सडक छेउको जंगलमा बेवारिसे छोडिएका गाई नेपालगन्जतर्फ नै फिर्ता पठाइएको हो।
जंगलमा बेवारिसे छाडिएका गाईलाई शनिबारदेखि नेपालगन्ज फिर्ता पठाउन थालेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो। प्रवक्ता रावलका अनुसार अहिलेसम्म १ सय ६७ वटा गाई नेपालगन्जतर्फ पठाइसकेको छ।
प्रवक्ता रावलका अनुसार चिकित्सकको टोलीले जङ्गलमा बेवारिसे छाडिएका घाइते गाईको शुक्रबारदेखि उपचार गरिरहेको छ। कटकुवा जङ्गलमा मृत भेटिएका गाईको शव परीक्षण गरेर गाड्ने काम भइरहेको छ। मृत गाईको पोस्टमार्टम रिपोर्टपछि मात्र गाईको हत्या भए/नभएको यकिन हुने प्रवक्ता रावलले बताउनुभयो। जिल्ला प्रहरी कार्यालयका अनुसार मरेका गाई–गोरुको संख्या ३० पुगेको छ।
जिल्ला प्रशासन कार्यालय बाँकेको भाद्र ८ गतेको चलानी नम्बर ७०२ को पत्रअनुसार नेपालगन्ज उप–महानगरपालिकाको कान्जीहाउसबाट दैलेखको शिरस्थान क्षेत्रमा पठाउने भनी गाईहरू सुर्खेततर्फ पठाएको थियो।

श्रीस्थानमा ल्याउनका लागि गाँउपालिकाले कुनै पनि लिखित तथा मौखिक सम्झौता नगरेको भैरवी गाउँपालिका दैलेखका अध्यक्ष पे्रमबहादुर बुढाले बताउनुभयो। दैलेखको भैरवी गाउँपालिकामा पर्ने शिरस्थानमा ती गाई ल्याउन गाउँपालिका, वडा कार्यालय र मन्दिर व्यवस्थापन समितिले नेपालगन्ज उपमहानगरपालिकासँग त्यस्तो कुनै माग नगरेको अध्यक्ष बुढाले बताउनुभयो।
चालकसहित ५ ट्रक नियन्त्रणमा

जंगलमा गाई बेवारिसे अवस्थामा फालेर नेपालगन्जतर्फ जाँदै गरेका चालक, ५ वटा ट्रकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ना६ख ४९४९ नम्बरको ट्रकका चालक रौतहट चन्द्रपुर नगरपालिका–२ का दामोदर केसी, ना६ख ९९०५ नम्बरको ट्रकका चालक बाँके कोहलपुर नगरपालिका–१४ हिमबहादुर जिसी, ना६ख ९१७७ नम्बरको ट्रकका चालक चितवन राप्ती नगरपालिका–४ का विवेक कँुवर रहेका छन्।

त्यस्तै  भे१ख १०१५ नम्बरको ट्रकका चालक चितवन राप्ती नगरपालिका–५ का सागर विश्वकर्मा, ना५ख ६६७४ नम्बरको ट्रकका चालक नवलपरासी सरावल गाउँपालकिा–१ का सुकधन चौधरी र एक जना सहचालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सुर्खेत प्रहरीले ट्रकका चालक र सहचालक गरी ६ जनालाई शुक्रबारै नियन्त्रणमा लिई अनुसन्धान शुरू गरिसकेको डीएसपी रावलले जानकारी दिनुभयो। मुलुकी अपराध संहिताअन्तर्गत पशुपक्षीसम्बन्धी कसुर गर्नेलाई कानुनी कारबाही गर्ने प्रावधान छ।

अपराध संहिताको उक्त कसुरअन्तर्गत दफा २८९ को उपदफा १ मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पु¥याउने नियतले कुनै काम गर्न नहुने उल्लेख छ। उपदफा २ मा गाई र गोरु मारेमा ३ वर्ष कैदको हुने व्यवस्था छ।

गौहत्या गर्नेलाई कारबाहीको माग

सुर्खेतको जंगलमा बेवारिसे छोडेर गौहत्या गर्नेलाई कारबाहीको माग गरिएको छ। नेपालगन्जबाट दैलेखमा पठाएका भनिएका ३० वटा गाईगोरु सुर्खेतको वीरेन्द्रनगर–१४ कटकुवा र सुब्बाकुना नजिकै बेवारिसेरूपमा मरेको अवस्थामा भेटिएका थिए।

गौहत्या गर्नेलाई कारबाहीको माग गर्दै सुर्खेत र दैलेखमा प्रदर्शनसमेत भएको छ।  ३० वटा गाई मृत भेटिनु रहस्यमय भएकाले उचित छानबिन गर्न इलेक्ट्रोकोनी वस्तुगत समिति सुर्खेतका अध्यक्ष भुवन ज्ञवालीले माग गर्नुभयो।

रातारात नेपालगन्जका गाईगोरु सुर्खेत हुँदै दैलेख लैजानुको कारण सार्वजनिक गर्न माग गर्दै ज्ञवालीले दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने बताउनुभयो। गौहत्याको  घटनामा ट्रक चालक मात्रै नभई अन्य व्यक्तिको संलग्नता रहनसक्ने भन्दै निष्पक्ष छानबिन गर्न उहाँले आग्रह गर्नुभयो।

त्यस्तै वीरेन्द्रनगर–१० सुर्खेतका कृष्ण कँडेलले कतिपय गाईगोरु भीरबाट खसालिएको अवस्थामा भेटिएकाले ‘गौहत्या’ भन्दै घटनामा संलग्नलाई कानुनी कारबाहीको गर्नुपर्ने बताउनुभयो ।

गाईलाई दानवीय हिसाबले भीरबाट खसालिएको भन्दै सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले एउटा प्रदेशका छाडा पशु चौपाया अर्को प्रदेशको अनुमतिबेगर ल्याएर छाड्ने नेपालगन्ज उपमहानगरपालिकाको गम्भीर लापरबाही भएकाले निष्पक्ष छानबिन गरी कारबाही गर्न सरकारसँग माग गर्नुभयो।
त्यस्तै भैरवी गाउँपालिका–१ को कार्यालय र श्रीस्थान मन्दिर व्यवस्थापन समितिले नेपालगन्ज उपमहानगरमालिकाले श्रीस्थान क्षेत्रमा गाई पठाएको भनिए पनि श्रीस्थान मन्दिर व्यवस्थापन समितिले गाई–गोरुको माग नगरेको जनाएको छ। श्री

स्थान मन्दिर व्यवस्थापन समितिले एक विज्ञप्ति निकालेर सामूहिक गौहत्याप्रति दुःख प्रकट गर्दै दोषीलाई कारबाहीको माग गरेको छ।