१० जनामा भेटियो डेंगुको संक्रमण

0
Shares

भक्तपुर, (नेस)। देशका विभिन्न भागमा देखापरेको लामखुट्टेको टोकाइबाट हुने प्राणघातक डेंगु रोग भक्तपुरमा १० जनामा फेला परेको छ। भक्तपुर अस्पतालमा कार्यरत १ कर्मचारीसहित अहिलेसम्म १० जनामा डेंगुको संक्रमण फेला परेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रविभूषण सुवालले बताउनुभयो।

डा. सुवालका अनुसार अस्पतालमा डेंगुको संक्रमण परीक्षण किटको व्यवस्था नहुँदा टेकु अस्पताल रिफर गरिएकामध्ये ६ जनामा डेंगुको संक्रमण देखिएको थियो। अस्पतालमा किटको व्यवस्था भएपछि सम्भावित १८ जनामध्ये चार जनामा डेंगु पुष्टि भएको उहाँको भनाइ थियो।
डा. सुवालका अनुसार २ जनाको भक्तपुर अस्पतालमै उपचार भइरहेको छ भने बाँकीको टेकु अस्पतालमा उपचार भइरहेको छ।स्वास्थ्य कार्यालय भक्तपुरका भेक्टर कन्ट्रोल सुपरभाइजर राजेन्द्रसिंह धामीले डेंगु संक्रमण बढेपछि प्रत्येक स्वास्थ्य चौकी र नगर स्वास्थ्य शाखामार्फत समुदायको तल्लो तहसम्म डेंगुबारे जनचेतना अभियान चलाइएको बताउनुभयो।