राजनीतिक भ्रष्टाचारका कारण ‘घरमाथि चिल घुमे’

0
Shares

कपिल काफ्ले, काठमाडौं।विवाहको आवरणमा नेपाली युवती चीनमा तस्करी गरिए भनेर प्रहरीले केही अभियुक्तलाई पक्राउ गरेर कारबाही चलाउनु प्रशंसनीय कार्य भए पनि यसको स्रोतका रूपमा रहेको राजनीतिक भ्रष्टाचार नियन्त्रित नभएसम्म समस्या समाधान नहुने विज्ञहरूको धारणा छ।

‘आँगनमा सिनो राख्ने, घरमाथि चिल घुमे भनेर गोली पड्काउने कार्यले समस्याको दीर्घकालीन समाधान हुँदैन, यो सिनो भनेको राजनीतिक वा नीतिगत भ्रष्टाचार हो, यसलाई हटाउनुपर्छ’, वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल प्रश्न गर्नुहुन्छ– ‘उमेर पुगेका ती युवतीले हामी आफ्नै मनखुसीले विवाह बन्धनमा बाँधिएका हौं भनेर दाबी गरे भने प्रहरीले कसरी प्रतिवाद गर्छ?’

‘हामी संस्कारगतरूपमै विचलित भइरहेका छौं, केटाकेटीदेखि नै जसरी पनि कमाउनुपर्छ, जो कमाउँछ उही ठूलो मान्छे हो भनेर पढ्यौं, नयाँ पुस्तालाई पनि त्यही सिकाइरहेका छौं’, वरिष्ठ अधिवक्ता अर्याल भन्नुहुन्छ– ‘कमाउनका लागि जानीजानी देहव्यापारमा लागेका, यौन दासता स्वीकार गरेर बाहिरिएका र ज्यानकै जोखिम मोलेर धनी मुलुकमा प्रवेश गरेका नेपालीको समूह सानो छैन।’

                    समाचार टिप्पणी

नेपाल प्रहरीले शुक्रबार उपलव्ध गराएको जानकारीअनुसार चीनमा नेपाली युवतीहरू विवाहको बहानामा बेचिने गरेका छन्। चिनियाँ दलालले एक नेपाली युवतीका लागि १० लाखसम्म लगानी गर्ने गरेको बताइएको छ।

यसमध्ये काठमाडौंमा बस्ने नेपाली दलालले १ देखि २ लाखसम्म, युवती राख्ने दलालले ८० हजार र युवतीको अभिभावकले ५० देखि ६० हजार पाउने गरेका छन्। बाँकी रकम राजनीतिक तथा प्रशासनिक दलालहरूको हातमा पुग्दछ।

‘कानुनतः संगठितरूपमा पैसाको लेनदेन गरी विवाह गराउन पाइँदैन, यसो गरे मानव तस्करी ठहर्छ, तर म्यारिटल ब्युरो खुलमखुल्ला चलिरहेका छन्, त्यसलाई के भन्ने?’, अर्का एक वरिष्ठ अधिवक्ताले भन्नुभयो– ‘विवाह गरेर चीन जान लागेका महिलालाई भन्दा त्यहाँ गएर फर्किएका महिलाले श्रीमतीको दर्जा दिइएन, यौनदासी बनाएर राखियो भनेर बयान दिए भने मात्र मुद्दा बलियो हुन्छ।’ श्रीमतीको दर्जा नदिएको अवस्थामा जिउ मास्ने–बेच्ने ऐन आकर्षित हुन्छ।

‘दुलही खरिद’को यस मुद्दामा १० व्यक्ति पक्राउ परेका छन् जसमा महिलाको संख्या अधिक छ– ६ नेपाली र चार चिनियाँ।आर्थिक अवस्था कमजोर भएका परिवारका युवतीहरूमाथि दलालले आँखा गाड्छन्।

चिनियाँ नागरिकसँग विवाह गरी चीन गए जीवन राम्रो हुने, चिनियाँ पासपोर्ट पाउने र पैसा पनि कमाइ हुनेजस्ता प्रलोभनमा पारेर दलालले युवतीलाई दुलही बन्न राजी गराउँछन्।

राष्ट्रिय मानव अधिकार आयोगले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार भूकम्पपछिको अवस्थामा नेपालबाट तस्करी हुने युवाहरूको संख्यामा २० प्रतिशतसम्म वृद्धि भएको छ। झन्डै १० हजारको हाराहारीमा गत वर्ष नेपालीहरू मानव तस्करीको शिकार बनेको पनि सोही प्रतिवेदनमा उल्लेख छ।

विश्वमै नेपाल एक नम्बरी

नेपालको कुल गार्हस्थ उत्पादनमा विप्रेषणको योगदान ३२ दशमलव २ प्रतिशत छ। विश्व बैंकका अनुसार सबैभन्दा बढी विप्रेषणमा आधारित पाँच मुलुकको सूचीमा नेपाल सबैभन्दा माथि छ, लाइबेरिया, ताजिकिस्तान, किरगिस्तान र बरमुडा क्रमशः ३१ दशमलव २, २९, २६ र २५ प्रतिशत गार्हस्थ उत्पादनमा योगदान दिने मुलुकका रूपमा छन्।

कानुनअनुसार मानव बेचबिखन वा तस्करीमा लोभलालच र करकापमा पारी शरीरका अंग झिक्ने कार्य पनि पर्दछ। मिर्गौला, आँखा, छालाआदि शरीरका अंगदेखि पाठेघर भाडामा लगाउने (सरोगेसी)सम्मका कार्यलाई मानव तस्करीका रूपमा लिइन्छ।

विश्व स्वास्थ्य संगठनले मानव अंगको व्यापारको व्यापकता देखाउँदै गत फाल्गुन महिनामा अमेरिकामा १ लाख १३ हजार व्यक्ति विभिन्न अंगको प्रत्यारोपणको पर्खाइमा रहेको जनाएको छ।

‘हामीकहाँ राजनीतिक प्रतिनिधिहरूलाई महँगो निर्वाचनको खर्च उठाउनु छ, दलालका नायिकेहरू विधायक बनेका छन्, सरकारको ढिकुटी बढाउन विप्रेषण चाहिएको छ’, वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले भन्नुभयो– ‘परिस्थितिले सरकारलाई विप्रेषण बढाउनै पर्ने अवस्थामा पुर्याएको छ।’