मेचीनगरमा सय बढी डेंगु संक्रमित

0
Shares

उत्तम नेपाल, भद्रपुर। झापाको मेचीनगर–९ स्थित खुट्टीडाँगी दुर्गा टोलमा आमाछोरामा देखिएको डेंगुको संक्रमण अहिले सयभन्दा बढीमा देखिएको छ। सबैभन्दा बढी मेचीनगर–६ मा डेंगु रोगी रहेको शाखाले जनाएको छ। यो वडामा कम्तीमा ५० जना डेंगुका रोगी छन्।

घरपिच्छै डेंगुका ज्वरोका रोगी रहेको शाखाको भनाइ छ। मेचीनगरको चारआली र धुलावारी डेंगुको उच्च जोखिममा थियो। स्वास्थ्य शाखाले नगरमा डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी नष्ट गर्ने अभियानमा शुरू गरेपछि १३ नम्बर वडाको चारआलीमा अत्यधिकरूपमा रहेका ग्यारेज तथा टायर रिसोलिङ गर्ने ठाउँमा प्रशस्त लामखुट्टेका लार्भा फेला परेको कारण चारआली डेंगुको उच्च जोखिममा रहेको शाखा संयोजक शशीकला राईले बताउनुभयो।

स्वास्थ्य शाखाले यसको संक्रमणबाट बच्न सर्वसाधारणसमेत सचेत हुनुपर्ने भएकाले त्यसतर्फ लाग्न नगरबासीमा आग्रह गरेको छ। नगरपालिकाले धुुलाबारी प्राथमिक स्वास्थ्य केन्द्र, काँकरभिट्टा स्वास्थ्य चौकीमा समेत डेंगु परीक्षण गर्ने कीट उपलब्ध गराएको छ।

डेंगु संक्रमित फेला परेलगत्तै नगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि चेतनामूलक पर्चा पम्प्लेट वितरण माइकिङ तथा रेडियो टेलिभिजनमार्फत चेतनामूलक सूचना प्रसारण गरिरहेको शाखा सहसंयोजक रामनारायण यादवले बताउनुभयो। एसी, फ्रिज, फूलका गमला, गाडीका पुराना टायरजस्ता वस्तुमा पाँच दिनभन्दा बढी पानी जम्नासाथ डेंगु सार्ने एडिस एजिप्टाई जातको लामखुट्टे मौलाउँछ।

आफ्ना घरवरिपरि लामखुट्टे मार्ने औषधी छर्ने, शरीर पूरै ढाक्ने कपडा लगाएउने, झुल लगाएर सुत्ने, लामखुट्टे भगाउने धूप प्रयोग गर्ने, सरसफाइमा विशेष ध्यान दिने, पानी जम्मा गर्ने भाँडाकुँडा कम्तीमा हप्तामा एकपटक सफा गर्ने, घरवरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्ने गरेर डेंगुबाट बच्न सकिने स्वास्थ्यकर्मीले बताएका छन्।