पुष्कर बुढाथोकी, भक्तपुर। अन्तर्राष्ट्रिय बेपत्ता दिवसको अवसरमा बिहीबार नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरले एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ।
कार्यक्रममा संविधानसभाका पूर्वसभासद् तथा बेपत्ता परिवारजन नारायणीदेवी प्रधानलगायतका बेपत्ता परिवार जनले सधै आफ्ना घाउमा कोट्याउने काम मात्र भएको तर राज्यले बेपत्ताहरूको छानबीनमा चासो नदेखाएको आरोप लगाउनुभयो। प्रधानले दश बर्षे द्वन्द्वका क्रममा श्रीमान् गुमाउनु भएको थियो।
भक्तपुरका नारायणभक्त त्वायनाको छोरा २०५८ साल चैत्र १२ गते बेपत्ता भएका छोराको अहिलेसम्म अत्तोपत्तो छैन। नेताहरू भन्नुहुन्छ– ‘तपाईंको छोरा शहीद भयो। शहीद भएको भए स्थान देखाउनुपर्यो नि, सरकार मेरो छोराको कि लास चाहियो कि सास चाहियो’ –त्वायना भन्नुहुन्छ।
त्वायनाको जस्तै पीडा भक्तपुरका १२ परिवारलाई छ। यति लामो समयसम्म बेपत्ता भएका आफ्ना आफन्तका बारेमा केही थाहा नहुँदा ठूलो पीडामा बस्नु परेको र सरोकारवाला निकायले छिटोभन्दा छिटो आफ्ना आफन्तका बारेमा जानकारी गराउन माग गर्नुभएको छ। बेपत्ता परिवारजन भन्छन्, ‘बरु मरे, मारेको ठहर भए अन्तिम संस्कार पनि हुन्थ्यो, बिस्तारै घाउ पनि निको हुँदै जान्थ्यो होला तर खोजबिन, पर्खाइ र तड्पाइमा हामीहरूको जीवन बित्ने भो।’
द्वन्द्वको पीडा राज्य र द्धन्द्धरत दुवै पक्षका पिडीतलाई उत्तिकै भएको बताउँदै भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी दिलिप लामिछानेले सरकारलाई छिटोभन्दा छिटो समस्या समाधनका लागि जागरुक गराउन सबैपक्षबाट लाग्नुपर्ने बताउनुभयो।
- सन्दर्भ ः अन्तर्राष्ट्रिय बेपत्ता दिवस
नेपाल रेडक्रसले बेपत्ता परिवारलाई भेटघाट गर्ने र उहाँहरूका समस्या बुझेर सरोकारवाला माझ लाने कार्य निरन्तर गरिरहेकोमा प्रशंसा व्यक्त गर्नुभयो। नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले सबैको चासो र चिन्ताको विषय बेपत्ता व्यक्तिको बारेमा सरकारले गम्भीर चासो देखाउनुपर्नेमा जोड दिनुभयो।
उहाँले कानुनको अभाव भएको भए तत्कालै कानुन बनाएर भए पनि दोषी जो भएपनि कारबाही गरेर बेपत्ताका परिवारलाई न्याय दिनुपर्ने बताउनुभयो।
अध्यक्ष बुढाथोकीले बेपत्ताजनको कि सास कि लाश ,कि अस्थिपन्जर कि चिहान राज्यले पहिचान गनुपर्ने बताउनुभयो।
अध्यक्ष बुढाथोकीले विगतमा भएका स्थानीय शान्ति समिति भंग हुँदा पनि बेपत्ताहरूको खोजबिनमा बहस र चर्चा र बल कमजोर बनेको बताउँदै उहाँले बेपत्ता छानबिन आयोगलाई पंगु बनाउने काम सरकार र दलहरूले गरेको उल्लेख गर्नुभयो।
बेपत्ताको खोजबिनमा सरकार र आयोगको पहल कदमी फितलो भएको बताउँदै उनीहरू कहाँ छन् भन्ने जवाफ दिन ढिलाई गर्न नहुने तर्फ ध्यानकर्षण गर्नुभयो। विगत र वर्तमानमा पद र पहुँचमा पुगेका प्रशासक,सुरक्षाकर्मी र दलका प्रभावशाली नेतासमेत बेपत्ताको सन्दर्भमा मुछिने भयले दोषीलाई पत्ता लगायर कारबाही गर्ने तर्फ प्रभावकारी काम हुन नसकेको तर्फ उहाँले शंका व्यक्त गर्नुभयो।
सोसाईटीका जिल्ला सभापति मनोजकुमार थापाले भक्तपुरमा यसअघि १८ जना बेपत्ता रहेकोमा अहिले सो संख्या १२ मा झरेको बताउनुभयो। रेडक्रस बेपत्ता परिपारको माग सम्बोधनमा निर्णायक नभए पनि उनीहरूको साथमै रहेको र सरकार समक्ष आवाज पुर्याइरहेको बताउनुभयो। रेडक्रसले बेपत्ता परिपारजनका लागि रोजगारीको पहल गर्ने बताउनुभयो।
द्वन्द्वका समयमा बेपत्ता भएका व्यक्तिका परिवारसँग रेडक्रसको अन्तराष्ट्रिय समिति (आईसीआरसी) र नेपाल रेडक्रसले काम गरिरहेको उहाँले बताउनुभयो। नेपाल रेडक्रसले बेपत्ता व्यक्तिका परिवारलाई अहिले सम्म भएका कामहरूको जानकारी गराउन र बेपत्ता व्यक्तिका परिवारको पीडा उस्तै छ है भनेर सरोकारवालालाई जानकारी गराउनका लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरका सभापति थापाले जानकारी दिनुभयो।
बेपत्ता भएका व्यक्तिका परिवारका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरले गरेका गतिविधिको जानकारी गराउँदै नेपाल रेडक्रस सोसाइटीका मन्त्री परशुराम पाण्डेले वैदेशिक रोजगार, विपद् जस्ता कारणले बेपत्ता भएका व्यक्तिको खोजीका लागि पनि जिल्ला शाखाले काम गरिरहेको बताउनुभयो।
उहाँले नेपाल रेडक्रस सोसाइटीले पारिवारिक सम्पर्कको पुनस्थापना सेवा मार्फत बालसुधार गृह सानोठिमीका पाँचजना बालहरूलाई रेडक्रस सन्देशमार्फत परिवारसँग सम्पर्क गराएको र भक्तपुरको सिपाडोल, डोलेश्वर मन्दिरको आफ्नो घर आफ्नै आश्रमका सात जनाका परिवारलाई भेटी जिम्मा लगाएको मन्त्री पाण्डेले बताउनुभयो।
अन्तरक्रिया कार्यक्रममा भक्तपुर प्रहरी प्रमुख एसपी सविन प्रधान, नेपाली सेना, सशस्त्र प्रहरी, बेपत्ता पारिएका व्यक्तिका परिवारहरू, पत्रकार र रेडक्रसकर्मीको सहभागिता रहेको थियो।
कार्यक्रममा उपस्थित बेपत्ता परिवारजनले पाएका दुःख र उनीहरूको कारुणिक प्रस्तुतिले सहभागिमा सन्नाटा छाएको थियो। हरेक वर्ष अगस्ट ३० का दिन यो दिवस मनाइन्छ।











प्रतिक्रिया