दशैंका बेला काठमाडौंमा डेंगुको महामारी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं । डेंगुको प्रकोप सरकारको काबु बाहिर पुगेको बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित अन्तर मन्त्रालय बैठकमा स्वास्थ्य मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गरेको हो।

स्वास्थ्य मन्त्रालयले अब सरकारले मात्र डेंगु नियन्त्रण हरेक व्यक्तिको सहयोगको याचना गरेको थियो। सरकारले तीनै तहका सरकारबाट महिनौदेखि प्रयास गरेको भए पनि डेंगुका बिरामी ह्वातै बढेपछि जनतासँग गुहार माग्ने अवधारण रहेको अधिकारीको भनाइ थियो। तसर्थ, सबैलाई लामखुट्टेको टोकाइबाट बच्ने उपायबारे सचेत रहन अधिकारीले अपिल गरेका छन्।

छलफल कार्यक्रममा स्वास्थ्य विज्ञ, विभागीय प्रमुखहरूको उपस्थितिमा भएको बैठकमा डेंगु नियन्त्रण सरकारको एकल प्रयासले सम्भव नभएको बताएका छन्। अब जनताको तहबाट मात्र डेंगु नियन्त्रण सम्भव रहेको मन्त्रालयको निष्कर्ष निकाल्दै जनतासमक्ष लामखुट्टेको टोकाइबाट आफै बच्नसमेत अपिल गरेको छ।

यतिबेला कर्णाली प्रदेशबाहेक मुलुकका आधिकांश जिल्लामा फैलिएको डेंगुका कारण ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यो पछिल्लो साढे ३ महिनाको तथ्यांक रहेको पनि जानकारी गराएको छ।

संक्रमितको संख्या ५ हजारभन्दा बढी रहेको र पछिल्लो ४० दिनमा १ हजार ५ सयभन्दा बढी संक्रमित थपिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले देखाएको छ।

रोग नियन्त्रणमा आउन नसक्नाको प्रमुख कारण केन्द्र सरकारले संघलाई देखाउने र संघले स्थानीय निकायलाई देखाउने भएका कारण यो विकराल रुप लिएको टिप्पणीसमेत भएको थियो। सरकारले एकअर्कालाई दोष थोपर्ने काम मात्र गरिरहेका कारण यो वर्ष मात्र ४२ जिल्ला डेंगु प्रभावित बनेको स्वास्थ्य विज्ञको ठम्याइ छ।

छलफलमा विभागीय मन्त्री, राज्यमन्त्री, सचिव तथा अन्य जिम्मेवार अधिकारीहरूको एउटै निष्कर्ष रह्यो– ‘अब सरकारले डेंगुको उपचार गर्न सक्छ, तर नियन्त्रण काबुमा रहेन।’ अब नियन्त्रण जनताको हातमा पुगेको अधिकारीहरूको निष्कर्ष छ।

८५ वटा स्थानीय तहमा खोज र नष्ट गर अभियान चलाइसकेको तर रोग नियन्त्रणमा प्रभावकारी बन्न नसकेको मन्त्रालयले जनाएको छ।उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सरकारले मात्र डेंगु नियन्त्रण गर्न नसकिने भयो अब सबै पक्ष मिलेर गर्नुपर्ने भो भन्नुभयो।

त्यसै गरी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले डेंगु नियन्त्रणका लागि सबै स्थानीय तहमा करोडभन्दा बढी बजेट पठाएर सबैखाले कार्यक्रम सञ्चालन गर्दा पनि रोग नियन्त्रणमा आउन नसकेको तथा स्थानीयमा जागरुकताबाहेक अरू उपायले नियन्त्रण सम्भव नभएको बताउनुभयोे।

लामखुट्टे नियन्त्रणका लागि सेना परिचालनदेखि लार्भा भेटिएमा घरधनीलाई दण्डित गर्ने विषयमा स्वास्थ्यका अधिकारीहरूको छलफल केन्द्रित गरेका छन्।
मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले डेंगु नियन्त्रणका लागि सेना परिचालन गर्ने विषयमा छलफल भइरहेको बताउनुभयो।

सन् २००९ मा चितवनमा डेंगुको महामारी फैलिँदा सेना परिचालन गरेको स्मरण गराउँदै उहाँले अब पुन लामखुट्टेको वासस्थान नष्ट गर्न सेना परिचालन गर्नुपर्ने भएको बताउनुभयो।

सरकारले दक्ष जनशक्तिको व्यवस्थापन गर्न नसकेका कारण डेंगुजस्ता कीटजन्य रोग नियन्त्रण गर्न नसकेको स्वास्थ्यसेवा विभागका महानिर्देशक डा. सुशील प्याकुरेल बताउनुभयो।

संघ, प्रदेश र स्थानीय तहको तालमेल हुन नसकेका कारण कार्यक्रम प्रभावकारी हुन नसकेको महानिर्देशक डा. प्याकुरेलको भनाइ छ।  साउनयता सबैभन्दा धेरै प्रदेश १ र ३ मा डेंगुको संक्रमण फैलिएको छ। ४० दिनको अवधिमा यी दुई प्रदेशमा १ हजार १ सय २२ जनामा डेंगुको संक्रमण देखिएको छ। त्यसैगरी, गण्डकी प्रदेशमा ३ सय ३९, प्रदेश ५ मा ५६, प्रदेश २ मा १४ र सुदूरपश्चिम प्रदेशमा ६ जनामा संक्रमण भएको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाको तथ्यांकले देखाएको छ।