विमल विष्ट, डोटी। डोटीका विभिन्न ६ वटा स्थानीय तहमा प्राविधिक विषयको पढाइ शरू भएको छ। नेपाल सरकारले एक स्थानीय तहको एक विद्यालयमा प्राविधिक शिक्षा पढाउने नीति लिएपछि जिल्लाका विभिन्न पालिकामा प्राविधिक विषयको अध्ययन अध्यापन शुरू गरिएको हो।
यस क्रममा डोटीको जोरायल गाउँपालिका–५ को नवोदय मावि गड्सेरामा पशुविज्ञान, दिपायल सिलगढी नगरपालिका–४ स्थित कुमालीकोट माविमा सिभिल इन्जिनियर, बडीकेदार गाउँपालिकाको बर्छैन माविमा कृषि विज्ञान, दिपायल सिलगढी नगरपालिका–४ रहेको शहीद स्मृती आवासीय माविमा वनविज्ञान, शिखर नगरपालिकामा रहेको राधाकृष्ण मावि गोपघाटमा कृषि जेटीए तथा सायल गाउँपालिकामा रहेको भवानी माविमा सिभिल इन्जिनियर विषयको पढाइ शुरू भएको हो।
त्यस्तै डोटीको सायल गाउँपालिकामा रहेको भवानी माविमा सिभिल इन्जिनियर (९– १२) पढाइ शुरू भएको छ भने अन्य विद्यालयमा पढाउने तयारी भएको डिभिजन शिक्षा इर्का क्षेत्रीय कार्यालय दिपायल राजपुरका प्रमुख वसन्त खत्रीले बताउनुभयो।
उहाँले भन्नुभयो,‘सरकारले प्राविधिक शिक्षा पढाउने अनुमति दिएका जिल्लाका ५ विद्यालय परेका छन्। केही विद्यालयले पढाइ शुरू गरेका छन् भने केहीले शुरू गर्ने तयारी गरेका छन्, सहुलियत दरमा प्राविधिक विषय पढ्न पाउने भएपछि विद्यार्थीलाई पनि लाभ पुग्ने भएको छ।’
प्राविधिक विषयको पढाइ आफ्नै गाउँमा शुरू भएपछि अहिले विद्यार्थी अन्य विषयभन्दा पनि प्राविधिक विषय पढ्नमा बढी चासो दिन थालेको कुमालीकोट माविका प्रधानाध्यापक दीलबहादुर कठायतले बताउनुभयो।
उहाँले भन्नुभयो– ‘पहिले प्राविधिक विषय पढ्नका लागि निकै कठिन थियो, अहिले सरकारले स्थानीय तहमै विद्यालय खोलेपछि विद्यार्थी प्राविधिक विषय पढ्न बढी चासो देखाउँदैछन्।’
सरकारले स्थानीय तह अन्र्तगतका गाउँपालिकामा प्राविधिक विषय पढ्न पाउने व्यवस्था मिलाएपछि अहिले यहाँका स्थानियवासी निकै खुसी भएको सायल गाउँपालिकाका नेकपाका नेता तेजबहादुर डुम्रेलले बताउनुभयो।
उहाँले भन्नुभयो, ‘घरकै आटोढुटो खाएर र फाटो लाएर प्राविधिक विषय पढ्न पाउनु भनेको ठूलो कुरो हो, गरिबका छोरा छोरीले प्राविधिक पढ्न पाउने भए, यो खुसीको विषय हो।’
पछिल्लो समय जिल्लामा प्राविधिक शिक्षा विद्यार्थीको पहिलो रोजाइको विषय बनिरहेको छ। यतिमात्र नभई यहाँका विभिन्न विद्यालयले आफ्नो विद्यालयमा कम्प्युटर शिक्षा अनिवार्य गरिरहेका छन्।











प्रतिक्रिया