सुभेन्द्र दास, लहान। सिरहामा गएको आर्थिक वर्ष २०७५÷०७६ मा ८८ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ। जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डीएसपी अपिल बोहराले त्यसमध्ये झुन्डिएर आत्महत्या गर्ने ५१ जना रहेको बताउनुभएको छ। त्यसैगरी विष सेवन गरेर ३७ जनाले आत्महत्या गरेका छन्।
आर्थिक वर्ष २०७४/०७५ मा ४० जनाले झुन्डिएर आत्महत्या गर्दा २२ जनाले विष सेवन गरेर आत्महत्या गरेको प्रहरीसँग तथ्यांक छ। हरेक वर्ष आत्महत्याको दर बढिरहेको प्रहरीले जनाएको छ।
आव २०७३/०७४ मा भने ३४ जनाले झुन्डिएर र १३ जनाले विष सेवन गरेर आत्महत्या गरेको पाइएको छ।तीन वर्षको तथ्यांक केलाउँदा हरेक वर्ष आत्महत्या गर्नेको दर बढेको डीएसपी बोहराले बताउनुभयो।
‘आत्महत्या विभिन्न कारणले भइरहेको छ, कतिपयले मानसिक समस्याका कारणले ज्यान फालिरहेका छन् भने कतिपय आत्महत्या साथीभाइ, परिवार, लागूऔषध, बेरोजगार, सम्बन्ध विच्छेद आदिका कारण भइरहेका छन्।’ –बोहराले बताउनुभयो।
आत्महत्या गर्नुअघिका लक्षणमा प्रायः एकान्तमा बसी टोलाउने, सामान्य कुराकानीमा पनि रिसाउने, झर्कने, आवेशमा आउने जस्ता अस्वाभाविक व्यवहार देखाउने रहेको मनोविश्लेषकले बताएका छन्।
त्यस्तै लागूऔषध, मादक पदार्थ सेवन, समयमा खानपिन नगर्ने, मानसिक सन्तुलन ठीक नभए जस्तो देखिने, चाँडै भावुक हुने, उत्तेजित हुनेलगायतका समस्या देखिन थाल्ने मनोविश्लेषक बताउँछन्।
आत्महत्या नियन्त्रणका लागि परिवार तथा समाजमा लक्षण देखिने थालेमा समयमै पहिचान गरी मनोचिकित्सकसँग परामर्श गर्नसके सम्भावित घटना रोक्न सकिने कुरा मनोविज्ञको सुझाब छ।











प्रतिक्रिया