योजना बाँडफाँडको विषयलाई लिएर आरोप–प्रत्यारोप

0
Shares

धादिङ, (नेस)।धादिङका संघीय सांसद खेम लोहनीले जिल्ला सदरमुकाममा रहेको नीलकण्ठ नगरपालिकाले विकास निर्माण र योजना बाँडफाँड गर्दा मेयरले पार्टी प्रवेश गराएपछि मात्र योजना दिने गरेको जनताले आफूसँग गुनासो गर्ने गरेको आरोप लगाउनुभएको छ।

प्रदेश नम्बर–३ का मूख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यमा उद्घाटित जिल्ला समन्वय समितिको तेस्रो जिल्ला सभामा शुभकामना मन्तव्यको क्रममा जनप्रतिनिधिको बीचमा भनाभन चलेपछि सरकार र प्रतिपक्षजस्तो अवस्था सृजना भएको थियो।

त्यस अवसरमा नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाले सांसदले पार्टी प्रवेशको कार्यक्रम गर्छन् भने आफूले गर्न किन नहुने भन्दै प्रति–प्रश्न गर्नुभएको थियो। धादिङका संघीय सांसद लोहनी नेकपाको तर्फबाट र नीलकण्ठ नगरपालिकाका प्रमुख ढुंगाना नेपाली कांग्रेसका तर्फबाट टिकट पाएर विजयी हुनुभएको हो।

जिल्ला सभाको उद्घाटन गर्दै प्रदेश नम्बर–३ का मूख्यमन्त्री डोरमणि पौडेलले पहिलेजस्तो पूर्वाधार निर्माणमा मात्र ध्यान दिने हो भने त्यसलाई वास्तविक अर्थमा विकास भन्न नमिल्ने भएकोले अबको विकास समग्र पक्षको विकास हुनुपर्नेमा जोड दिनुभएको थियो।

संघियताको रक्षा गर्ने भनेको स्थानीय तहको सरकारको पहिलो काम भएकाले यसको रक्षाका लागि लाग्न सबैलाई आग्रह गर्दै मूख्यमन्त्री पौडेलले संघीयता फेल भएमा जताततै अन्धकार नै अन्धकार छाउने बताउनुभएको छ।

प्रदेश सरकारले ‘एक पालिका एक औद्योगिक ग्राम’ बनाउन आ≈वान गरे पनि हालसम्म धादिङका कुनै पनि स्थानीय तहले प्रदेश सरकारसमक्ष प्रस्ताव पेश गर्न नसकेको र ठूला कृषि फर्म सञ्चालन गर्ने सामूहिक खेती र एकिकृत खेती प्रणाली अपनाउन प्रदेश सरकारले कार्यक्रम माग गरेअनुसार धादिङबाट कुनै पनि माग नपरेको मूख्यमन्त्री पौडेलले बताउनुभएको छ।