आयो डिजिटल एक्स–रे मेसिन, भएनन् दरबन्दीअनुसारका चिकित्सक

0
Shares

नेपाल समाचारपत्र, डोटी। सुदूरपश्चिम प्रदेशका अन्य पहाडी जिल्लाहरूमा सादा खालको एक्स–रे मेसिन नभएका बेला जिल्ला अस्पताल डोटीले पहिलो पटक डिजिटल एक्स–रे मेसिनबाट बिरामीलाई सेवा दिन शुरु गरेको छ।

सुदूरपश्चिम प्रदेश सरकारले लाखौ मूल्य पर्ने उक्त डिजिटल एक्स–रे मेसिन डोटी अस्पतालमा पठाएपछि अहिले सेवा दिन शुरु गरिएको हो। डिजिटल एक्स–रे मेसिनबाट सेवा दिन थालिएपछि बिरामीहरूको रोग सहजै पत्ता लगाउन सकिएको जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. भुषण मिश्रले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘अन्य एक्स–रे मेसिनभन्दा डिजिटल एक्स–रे मेसिनबाट लिईएका एक्स–रेहरू हेर्न र रोग पत्ता लगाउन सजिलो हुने भएकाले बिरामी र चिकित्सकलाई सहज भएको हो।’

अस्पतालमा डिजिटल एक्स–रे मेसिनले सेवा दिन थालेपछि बिरामीको पनि चाप बढ्न थालेको अस्पतालले बताएको छ। जिल्ला अस्पतालमा यसभन्दा अघि एक्स–रे मेसिन बिग्रेको कारण स्थानीयहरू सामान्य दुर्घटना हुँदा एक्स–रे गर्न दिपायल तथा जिल्लाबाहिर बढी पैसा खर्च गरेर सेवा लिन जान बाध्य भएका थिए।

अस्पतालमा डिजिटल एक्स–रे मेसिन आएपछि अहिले स्थानीयहरू निकै खुशि भएको स्थानीयवासी तथा त्रिवेणी एफएमका स्टेशन मेनेजर कर्ण चन्दले बताउनुभयो। उहाँले भन्नुभयो, ‘सामान्य खालको एक्स–रे मेसिन नहुँदा स्थानीयलाई निकै सास्ती हुँदै आएको थियो, अब डिजिटल एक्स–रे मेसिन आएको छ, बिरामीले राम्रो सेवा पाउने भएकोले सबै खुसी छन्।’

जिल्ला अस्पताल डोटीमा एकपछि अर्को सेवा थपिदै आए पनि अस्पतालमा सरकारी दरबन्दीअनुसारका चिकित्सक नहुँदा भने बिरामीलाई समस्या हुने गरेको स्थानियवासीको गुनासो छ। चार जना सरकारी चिकित्सकको दरबन्दी रहेको सो अस्पतालमा पछिल्लो समय गैह्रसरकारी संस्थाले खटाएका चिकित्सकका भरमा काम सञ्चालन हुँदै आएको छ।

अस्पतालमा नवौ र दशौँ तहका दुईजना र मेडिकल अधिकृत दुईजना गरी चार जनाको दरबन्दी भएपनि एकजना मेडिकल अधिकृत डा. भुषण मिश्र मात्रै कार्यरत हुनुहुन्छ।
अस्पतालमा सरकारी डाक्टर नभएपछि गैह्र सरकारी संस्था निक साईमन ईन्टरनेसनलले दुईजना चिकित्सक उपलब्ध गराएको छ।

उहाँहरूमा डा. गिरिश अवस्थी र डा. खुसिद आलम खान हुनुहुन्छ। अस्पतालमा दरबन्दी अनुसारका डाक्टर नहुँदा निकै समस्या भएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मिश्रले बताउनुभयो। उहाँले भन्नुभयो, ‘अस्पतालमा दरबन्दीका डाक्टर छैनन्, संस्थाले खटाएका साथीहरू भएकाले केही सहज भएको छ, नत्र मलाई हम्मेहम्मे पथ्र्यो।’