नेपाल समाचारपत्र, लहान। अनुमतिबिना अवैध रूपमा सञ्चालन गरिएको आरोपमा सिराहाका आधा दर्जन डेरी उद्योगमा शिलबन्दी गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा दुर्गन्धित तथा कागजपत्रबिनै सञ्चालन गरिरहेको पाइएपछि ६ वटा डेरी उद्योगमा शिलबन्दी गरिएको हो।
सिराहास्थित ज्वाइस दही तथा आइसक्रिम उद्योग, बजर· डेरी उद्योग, सुखचैनास्थित लक्ष्मी डेरी उद्योग, नरहास्थित सुधा दूध डेरी उद्योगमा शिलबन्दी गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीका सुरेशकुमार सिंहले बताउनुभयो।
दुई उद्योगले भने नाम नै नराखी व्यवसाय गर्दै आएका थिए। शिलबन्दी गरिएका अधिकांश डेरी उद्योगले गाईभैँसीको दूधको साटो प्याकेटवाला पाउडर दूधको प्रयोग गरेको तथा सरकारले तोकिएको मापदण्ड २५ प्रतिशत पनि पालना नगरेको अनुगमनका क्रममा पाइएको प्रमुख सिंहले बताए।
डेरी उद्योगीलाई पटक–पटक डेरी उद्योगको मापदण्ड अपनाउन निर्देशन दिए पनि बेवास्ता गरेकाले शिलबन्दी गरेको प्रमुख सिंहको भनाइ छ। सिरहामा करिब ४५ वटा दूध डेरी उद्योग दर्ता भई सञ्चालनमा रहेको बताइएको छ।











प्रतिक्रिया