प्यूठानमा बन्ने भयो पक्की पुल

0
Shares

नेपाल समाचारपत्र, प्युठान।  चार वर्षदेखि अलपत्र प्युठानको झिमरुक खोलामा पक्की पुल निर्माणको काम पुनः शुरु हुने भएको छ। पिलर राख्ने स्थानमा दलदल भेटिएपछि अलपत्र छोडिएको झिमरुक गाउँपालिका–५ को ढाँडदेखि स्यालीघारी जोड्ने पुल पुन–निर्माण गर्न लागिएको हो।

निर्माण व्यावसायी, प्रदेश सरकार र सडक पुल कार्यक्रम एलआरबीपीबीच यसै साता बुटवलमा भएको छलफलले पुनः लागत अनुमान तयार गरी पुल निर्माणको कामलाई अघि बढाउने सहमती भएको प्रदेश–५ सदस्य हरि रिजालले बताउनुभएको छ।

प्रदेश–५ को भौतिक पूर्वाधार मन्त्रालयको रु ४ करोड ५० लाखको लागतमा एकसय मिटर लामो पक्की पुल निर्माण हुनेछ। आर्थिक वर्ष ०७२÷७३ मा दुई वर्षभित्र पुल बनाइसक्ने गरी निलगिरी आँशु जेभी निर्माण सेवा प्युठानले भ्याटसहित ४ करोड २ लाख रूपियाँमा ठेक्का लिएको थियो।

पिलर राख्ने स्थानको चार मिटर गहिराइमै दलदल भेटिए पछि काम रोकिएको बताइएको छ। पुलको पुनः डिजाईन र स्टिमेट गरी काम शुरु गर्ने निर्माण व्यावसायी बालाजु श्रेष्ठले बताउनुभयो।

वर्षौंदेखि पुल नहुँदा स्थानीय सर्वसाधारणले ज्यानकै बाजी लगाएर खोला तर्नुपर्ने बाध्यता रहेको स्थानीय रेकम बहादुर महतराले बताउनुभयो। ‘पक्की पुल नहँुदा धेरै समस्या भएको छ’, महतराले भन्नुभयो, ‘वर्षाको समयमा ५ किलोमिटर घुमेर आउजाउ गर्नुपर्ने बाध्यता छ।’

झिमरुकसहित गौमुखी र नौबहिनी गाउँपालिकामा पर्ने दर्जन बढी दुर्गमका स्थानीयलाई पुल निर्माणपछि प्रत्यक्ष फाइदा पुग्ने छ। यससंगै सिमाना जोडिएका गुल्मी, बाग्लुङ र अर्घाखाँची जिल्लाका नागरिकहरूको यात्रा सजिलो हुने झिमरुक–८ का वडा अध्यक्ष तुलस बस्नेतले नेपाल समाचारपत्रलाई बताउनुभयो।