नेपाल समाचारपत्र, कास्की । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले निर्माणाधीन पोखरा क्षेत्रीय विमानस्थलको स्थलगत निरीक्षण गर्दै त्यहाँबाट मान्छे मात्र होइन मालसामान बोक्नुपर्छ भन्नुभएको छ।
बुधबार बिहान ७ बजे पोखरा विमानस्थल ओर्लिनुभएका भट्टराई सिधै निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको निर्र्माण कार्यको निरीक्षणका लागि पुग्नुभएको थियो। विमानस्थल निर्माण आयोजनाको तर्फबाट आयोजना प्रमुख विनेश मुनान्कर्मीले मन्त्रीसमक्ष भौतिक तथा वित्तिय प्रगतीको बारेमा जानकारी गराउनुभएको थियो।
‘हामी सोचेको भन्दा धेरै नै अगाडि काम सम्पन्न गर्दैछौं। त्यसैले सम्झौताको समयभन्दा पहिल्यै जहाज उडाउन विमानस्थल तयार हुनेछ,’ मुनान्कर्मीले भन्नुभयो, ‘अहिलेसम्म सबै गरेर ४५ प्रतिशत प्रगति भएको छ।’
विदेशी लगानी भित्याउन पनि राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सक्नुपर्ने पर्यटन मन्त्री भट्टराईको भनाई थियो। ‘अहिले हामीलाई विभिन्न देशका लगानीकर्ताहरूसँग छलफल गर्दा यो आयोजना किन बनेन, त्यो किन बनेन भनेर सोधिन्छ।
कति आयोजनाहरू काम नभएर लड्कीरहेका छन्,’ मन्त्री भट्टराईले भन्नुभयो, ‘यस्ता आयोजना समयमै सम्पन्न भए लगानीकर्ताहरू नेपालमा लगानीमैत्री वातावरण छ भनेर पनि आउँछन्। त्यसैले राष्ट्रिय गौरवका आयोजनाहरू निर्माणमा ढिला गर्नहुँदैन।’
सन २०२२ सम्म सम्पन्न गर्नेगरी चिनियाँ कम्पनी सीएएमसीले निर्माण गरिरहेको यो विमानस्थल झण्डै २२ अर्ब चिनियाँ ऋण सहयोगमा निर्माणाधीन रहेको आयोजना प्रमुख मुनान्कर्मीले जानकारी गराउनुभएको थियो।
तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारीले पोखरा एयरपोर्टलाई दिएको जत्तिकै चासो आफूमा पनि भएको मन्त्री भट्टराईले संकेत गर्दै भन्नुभयो,‘रविन्द्र अधिकारीले निकै चासो दिएको एयरपोर्ट हो। अन्य माननीयले पनि पटकपटक उठाउँदै आएको विषय हो यो। राष्ट्रिय गौरवको आयोजना भएकोले हाम्रो मन्त्रालयले निकै चासोको साथ हेरिरहेको छ।’
स्थलगत भ्रमणको अवसरमा उपस्थित स्थानीयहरूले मन्त्री भट्टराईसमक्ष आयोजनाका विषयमा बोल्दै मुआब्जा र एयरपोर्ट तलका क्षेत्रमा सिंचाइ सुविधा नपुर्याइदिएको भन्दै गुनासो राखेका थिए।
पर्यटनमन्त्री भट्टराईले पोखरा विमानस्थलबाट जहाजले यात्रुमात्र बोकेर उँडेर फाईदा नहुने बताउँदै भन्नुभयो, ‘यात्रु बोक्ने मात्र हैन विजनेश पनि गर्नुपर्छ। यो सेवा पनि हो र विजनेश पनि हो।’
नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले कति क्षमताको जहाजले उँडान भर्ने भन्ने बारेमा भइरहेको अड्कलबाजीलाई प्रष्ट पार्दै भन्नुभयो,‘पोखरा एयरपोर्टमा ठुला जहाजहरू अवतरण गर्न सक्दैनन्।
यहाँको रनवे २५०० मिटरको मात्र हो,’ वहाँले भन्नुभयो, ‘१४०–१५० सिट क्षमताको जहाजको उँडान संभव हुनेछ। सम्भवतः नेपालमा पोखरा विमानस्थल नै छिटो सम्पन्न हुने राष्ट्रिय गौरवका आयोजना हुनेछ।’
सो अवसरमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले विमानस्थलबाट दायाँ–बायाँका पहुँच सडकहरू तत्कालै बनाउन सुरु गर्नुपर्ने सुझाव संघीय सरकारका पर्यटन मन्त्रीलाई दिनुभयो।











प्रतिक्रिया