ललितपुर, (नेस) ।महानगरपालिकाको भुइँ तल्लाको एउटा कोठा बुधबार विदेशी र स्वदेशी अपांगता भएकाहरूले खचाखच थियो। कोठाभित्र थिए, महानगरका प्रमुख चिरिबाबु महर्जनसहित अन्य कर्मचारी पनि।
जापानबाट आएका ह्विलचियर प्रयोगकर्ता नेपालका ह्विलचियर प्रयोगकर्तासँग महानगरले बनाएका अपांगमैत्री संरचनाको अवलोकनका गर्न त्यहाँ आएका थिए। प्रमुख महर्जनले भन्नुभयो– ‘वडा नं ३ मा अपांगमैत्री फुटपाथ बनाएका छौं, अर्को वडामा पनि बन्दै छ।’
उहाँले महानगरभित्र अब बन्ने सार्वजनिक कार्यालयहरू अपांगमैत्री हुने बताउनुभयो। जापानस्थित ‘इन्डिपेन्डेन्ट लिभिङ सेन्टर’ इरुकाका प्रतिनिधि हिरोआकी इकादा महर्जनका कुरा ध्यानपूर्वक सुनिरहनुभएको थियो।
इकादा मस्कुलर डिस्ट्रोफी हुन्। महानगरको भ्रमणका क्रममा आएकी थिइन्, तसाइ सुन फान। ताइवानकी उहाँले जापानका नागरिकसँग विवाह गर्नुभयो। त्यसपछि जापानमा बसेर उक्त सेन्टरमा कार्यरत हुनुहुन्छ। नगरप्रमुखमा निर्वाचित महर्जन दुईपटक जापान गैसक्नुभएको छ।
जापानले अपांगता भएकालाई उपलब्ध गराएको सुविधा देखेपछि आफू प्रेरित भएको बताउनुभयो। बिदाको बेला र साँझ–बिहान मात्रै लिफ्टको काम गरिने भएकाले लिफ्ट सञ्चालन अलि ढिला भएको उहाँले प्रस्ट पार्नुभयो। अहिले महानगरमा लिफ्ट जडानको काम अन्तिम चरणमा पुगेको छ।
महानगरभित्र निर्माण भएका सार्वजनिक शौचालय अपांगमैत्री छन्। निर्माणको क्रममा रहेका यस्ता शौचालयहरूलाई समेत अपांगमैत्री बनाइने महानगरको योजना छ। महानगरले छिट्टै अपांगमैत्री विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको बताए।
इन्डिपेन्डेन्ट लिभिङ सेन्टर नेपालका अध्यक्ष भोजराज श्रेष्ठले महानगर अपांगता भएकाहरूप्रति सकारात्मक भएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘महानगरले अपांगता भएकाको संवेदनशीलतालाई बुझेर काम गरेको छ।’ उहाँले महर्जन व्यक्तिगत रूपमा पनि अपांगता भएकाप्रति संवेदनशील भएको बताउनुभयो।
‘इन्डिपेन्डेन्ट लिभिङ सेन्टर’ इरुकाका कार्यक्रम संयोजक इकेदाले महानगरले अपांगता भएकाप्रति संवेदनशील भएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले महानगरसँग सहकार्य गर्न इच्छुक भएको बताउँदै प्राविधिक सहयोग गर्नेसमेत बताउनुभयो। महानगरलाई यस संस्थाले प्रदान गर्ने अपांगतामैत्री ‘क्याब’ ट्याक्सीको प्रक्रिया अन्तिम चरणमा पुगेको उनीहरूले जानकारी दिए।











प्रतिक्रिया