मिडिया काउन्सिल विधेयक आज दर्ता हुने

0
Shares

काठमाडौं, (नेस) ।लामो समयदेखि विवादमा रहेको नेपाल मिडिया काउन्सिल विधेयक, २०७५ आज बिहीबार राष्ट्रियसभामा पेस हुने भएको छ। राष्ट्रियसभाले प्रकाशित गरेको सम्भावित कार्यसूचीमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विधेयक प्रस्तुत गर्ने जनाइएको छ।

राष्ट्रियसभाका नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सरकारले विधेयक संशोधन गर्ने आश्वासन दिएपछि विधेयक प्रस्तुत गर्न सहमति जुटेको बताउनुभयो। उहाँले संसद्मा प्रस्तुत भएपछि संशोधन हालिने जनाउनुभयो।

सरकारले यसअघि विधेयकमा कुनै संशोधन नहुने बताएको थियो। विधेयकले पत्रकारका हक अधिकार खोसिएको र मिडियामाथि बन्देज लगाउन खोजिएको भन्दै सरकारको विरोध हुँदै आएको थियो।

पत्रकार महासंघसहित सञ्चारसँग सम्बन्धित अन्य संघसंस्थाले विधेयकविरुद्ध चरणबद्ध आन्दोलन गरेका थिए। महासंघले सभामुख, राष्ट्रियसभाका अध्यक्ष, सञ्चारमन्त्रीसहितलाई भेटेर आफ्नो गुनासो राखेको थियो।

विधेयकमा मन्त्री बाँस्कोटाले २०७६ वैशाख २० गते हस्ताक्षर गर्नुभएको थियो। विधेयक राष्ट्रियसभाको विधेयक शाखामा वैशाख २७ गते दर्ता भएको थियो। विधेयकको विषयलाई लिएर कांग्रेसले पटकपटक संसद्मा र सडकमा आवाज उठाउँदै आएको थियो।