काठमाडांै, (नेस) । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सहसचिवहरूको सरुवा गर्ने तयारी गर्नुभएको छ। यसै क्रममा उहाँले मन्त्रालय मातहत रहेका सबै निकायका सहसचिवसँग कुराकानी गर्ने तयारी गर्नुभएको छ। स्रोतका अनुसार मन्त्री पोखरेलले सबै सहसचिवलाई बोलाएर धारणा बुझ्न थाल्नुभएको हो।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रका प्रमुख निर्देशक टेकनारायण पाण्डेलाई प्रदेश–५ को मुख्य मन्त्रालयको सचिवमा सरुवा गरेपछि मन्त्री पोखरेलले अन्य सहसचिवलाई समेत सरुवा गर्न लाग्नुभएको हो। मन्त्रीले सबै सहसचिवको कार्यालयमा भएका कामको समेत मूल्यांकन गरी सरुवा गर्ने तयारी गर्नुभएको स्रोतले जनाएको छ।
‘अघिल्ला सचिव खगराज बराल र मन्त्री पोखरेलबीच सहसचिव सरुवा गर्ने आन्तरिक तयारी भइसकेको थियो। अहिले नयाँ सचिव आएपछि पुनः सल्लाह गरी सरुवा गर्ने तयारी भइरहेको छ।’ –मन्त्रालय स्रोतले भन्यो। गएको मन्त्रिपरिषद्को बैठकले शिक्षा मन्त्रालयमा महेश दाहाललाई सरुवा गरेको छ।
मन्त्रालयअन्तर्गत हाल १५ सहसचिव कार्यरत छन्। मन्त्रालयमा हरि लम्साल, कृष्णप्रसाद काप्री, रामशरण सापकोटा, बैकुण्ठ अर्याल, विदेशबाट विद्यावारिधि गरी नेपाल फर्कनुभएका कमल पोखरेल र विष्णुप्रसाद अधिकारी कार्यरत छन्।
शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा महानिर्देशक बाबुराम पौडेल, खगेन्द्र नेपाल, दीपक शर्मा र चूडामणि पौडेल कार्यरत छन्। पाठ्यक्रम विकास केन्द्रमा डा. लेखनाथ पौडेल, शिक्षक सेवा आयोगमा डा. तुलसी थपलिया, शैक्षिक गुणस्तर परीक्षण केन्द्रमा टेकनारायण पाण्डे, इभेन्ट परियोजनामा केशव दाहाल, केन्द्रीय आयोजना इकाइ (शिक्षा)मा इमनारायण श्रेष्ठ कार्यरत छन्।
मन्त्री पोखरेलले आफू निकटका सहसचिवलाई मन्त्रालय ल्याउने तयारी गरिरहनुभएको बुझिएको छ। अवकास हुन करिब सात महिना बाँकी रहेका केन्द्रका महानिर्देशक बाबुराम पौडेललाई मन्त्रालयमा, डा. तुलसी थपलियालाई शैक्षिक गुणस्तर परीक्षण केन्द्रमा सरुवा गर्ने तयारी गर्नुभएको बुझिएको छ।











प्रतिक्रिया