राप्रपा देशव्यापी प्रशिक्षणमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी सांगठनिक गतिविधिलाई तीव्रता दिँदै देशव्यापी प्रशिक्षणमा जुटेको छ। राप्रपाले २०७६ लाई संगठन निर्माण वर्ष घोषणा गरेसँगै देशव्यापी प्रशिक्षणमा जुटेको हो।

साउनको अन्तिम साता काभ्रेको धुलिखेलमा सम्पन्न भएको केन्द्रीय प्रशिक्षक प्रशिक्षणमा सहभागी केन्द्रीय प्रशिक्षक अहिले जिल्लास्तरीय प्रशिक्षणको निमित्त विभिन्न जिल्लामा खटिएका छन्। राप्रपाले भदौ महिनाभित्र ७७ जिल्लामा प्रशिक्षण सम्पन्न गर्ने योजनाका साथ प्रशिक्षण अभियान शुरू गरेको हो।

पार्टीको संगठनलाई चुस्त र कार्यकर्तालाई प्रशिक्षित बनाउन सञ्चालन गरिएको प्रशिक्षण कार्यक्रमअन्तर्गत मोरङ, स्याङ्जा र धनकुटामा प्रशिक्षण सम्पन्न भइसकेको छ भने भदौ दोस्रो साताभित्र गोरखा, लमजुङ, झापा, बैतडी, पाँचथर, सुनसरीमा प्रशिक्षण तय गरिएको छ।

प्रशिक्षण विभागका प्रमुख एवं प्रवक्ता भुवन पाठकका अनुसार मुलुकको पछिल्लो समसामयिक राजनीतिक अवस्था, वर्ष २०७६ को कार्ययोजना, संगठन निर्माण र नेतृत्व विकास, सैद्धान्तिक वैचारिक पक्ष, सक्रिय सदस्यता वितरण अभियान, केन्द्रीय महाधिवेशनको तयारी, सूचना प्रविधिका विषयमा प्रशिक्षण दिइनेछ।

उहाँका अनुसार भदौ महिनाभित्र सबै जिल्लामा प्रशिक्षण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरको प्रशिक्षणको पनि मिति तय भइसकेको छ। असोज महिनामा स्थानीय तहमा प्रशिक्षण सञ्चालन गरिने सहायक प्रवक्ता रमानन्द न्यौपानेले बताउनुभयो।

पार्टी अध्यक्ष कमल थापा अर्को हप्ता पार्टी कार्यक्रमको निमित्त नवलपरासी, रूपन्देही, कपिलवस्तु र मकवानपुरको भ्रमणमा जाने राप्रपा केन्द्रीय सचिवालयले जनाएको छ।
राप्रपाको प्रशिक्षण कार्यक्रममा सहभागी हुन अधिकांश केन्द्रीयस्तरका नेता, विभाग र भ्रातृ संगठनका नेतासमेत विभिन्न जिल्लामा परिचालित भएका छन्।

 

मुलुकको पछिल्लो समसामयिक राजनीतिक अवस्था, वर्ष २०७६ को कार्ययोजना, संगठन निर्माण र नेतृत्व विकास, सैद्धान्तिक वैचारिक पक्ष, सक्रिय सदस्यता वितरण अभियान, केन्द्रीय महाधिवेशनको तयारी, सूचना प्रविधिका विषयमा प्रशिक्षण दिइनेछ ।

 

राप्रपाले देशका ७ सय ५३ वटै स्थानीय तहमा प्रशिक्षण सञ्चालन गर्ने लक्ष्य लिएको र तदनुरूप केन्द्रीय प्रशिक्षक र केन्द्रीय नेतालाई परिचालन गरेको छ। बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने महाअभियानमा चुस्त संगठन, वैचारिकरूपमा सबल कार्यकर्ता र समयानुकूल कार्यक्रम आवश्यक पर्ने भएकाले देशव्यापी बृहत् प्रशिक्षण सञ्चालन गरिएको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताएका छन्।

राप्रपाले धनकुटा, मोरङ, पाँचथर र ताप्लेजुङका लागि वासुदेव भट्टराई र शारदा रिजाललाई प्रशिक्षकको रूपमा खटाएको छ। भदौ १४ गते पाँचथरमा हुने प्रशिक्षण कार्यक्रममा पार्टीका प्रवक्ता भुवन पाठक र सहायक महामन्त्री तीर्थराज चटौत सहभागी हुने भएका छन्।

यसैगरी खोटाङ, ओखलढुंगा, सोलुखुम्बु र उदयपुरमा वसन्त रिमाल र कुमार बस्नेत, झापा र सुनसरीमा मधुसूदन रिसाल र सांसद रीता माझी, भोजपुर, संखुवासभा, इलाम र तेह्रथुममा केशव ओझा र रञ्जु प्याकुरेल, सिराहा, सप्तरी, बारा र पर्सामा विन्तीप्रसाद चौधरी र सुजन अधिकारी, धनुषा, महोत्तरी, रौतहट र सर्लाहीमा सुजित केसी र श्यामप्रसाद नेपाल प्रशिक्षक तोकिएका छन्।

यसैगरी चितवन, नवलपुर र नवलपरासीमा युवराज घिमिरे र लिला स्त्री, सिन्धुली, मकवानपुर, रामेछाप र धादिङमा भक्ति सिटौला र राजन सिवाकोटी, नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोकमा परशुराम तामाङ र श्याम लामा, हुम्ला र डोल्पामा शशि भण्डारी र गणेशलाल श्रेष्ठ, दोलखा र सिन्धुपाल्चोकमा लालध्वज लामा र मणि सिंखडा, सल्यान, रोल्पा, रुकुम–पूर्व र रुकुम–पश्चिममा कौशल आचार्य र मीना स्वर्णकार, गोरखा, लमजुङ, तनहुँ र कास्कीमा वसन्तमानसिंह अधिकारी र हिक्मतजङ्ग भण्डारी, बर्दिया, दाङ र बाँकेमा पवित्रा सुब्बा श्रेष्ठ र गिरिराज पुरुष, बझाङ, दार्चुला र बैतडीमा उपेन्द्रविक्रम पुरुष र पुरु दाहाल, दैलेख र जाजरकोटमा सन्तोषी शाही ठकुरी र जनकसिंह ठकुरी, स्याङ्जा, बाग्लुङ, पर्वत, मुस्ताङ र म्याग्दीमा वरुणविक्रम राणा, विनोद भट्टचन र नवराज लम्जुङे प्रशिक्षक तोकिएका छन्।

त्यस्तै रूपन्देही र कपिलवस्तुमा युवराज घिमिरे, सुमेश्वर कुशवाहा र विन्तीप्रसाद चौधरी, डोटी, बाजुरा र अछाममा हिक्मतसिंह भण्डारी र महेशबहादुर सिंह, जुम्ला, मुगु, सुर्खेत र कालिकोटमा राजेन्द्रवीर राय र लीलाधर शर्मा, अर्घाखाँची, गुल्मी र पाल्पामा मेनुका खाँड केसी र सीता बस्याल केन्द्रीय प्रशिक्षक तोकिएका छन्। काठमाडौं, ललितपुर र भक्तपुरमा भने प्राडा जयन्तनाथ खनाल, रमानन्द न्यौपाने र आशा लामाले प्रशिक्षण दिने भएका छन्