नेपाल समाचारपत्र, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले धर्म निरपेक्षताको आडमा धर्म परिवर्तन र धर्म परिवर्तनको निशानामा सनातन धर्म, मूल्य मान्यता, परम्परा र रीतिरिवाज पर्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ।
पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले हरितालिका तीजको अवसरमा काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले जनस्तरमा मौलिक संस्कृति र परम्पराको रक्षा गर्ने चेतनाको बढोत्तरी हुनु सन्तोषजनक अवस्था रहे तापनि देश र सनातन धर्मका लागि आवश्यक परे आन्दोलनको स्वरुप दिनुपर्ने अवस्था आउने भन्दै त्यसका लागि तयार रहन महिलालाई अपिल गर्नुभएको छ।
अध्यक्ष थापाले नेपालका हरेक चाडपर्वको आ–आफ्नै विशिष्टता रहेको र हरितालिका तीजको महत्व आधुनिक परिवेशमा झनै उल्लेख्य रहेको बताउनुभयो। तीज रमाइलो गर्ने विषय मात्रै नभएर नारी मुक्तिको सन्देश प्रवाह गर्ने एउटा सशक्त आन्दोलन पनि भएको प्रष्ट पार्दै अध्यक्ष थापाले महिलाहरूले दुःख पीडा साट्ने पर्वको रुपमा यसको विशिष्टता रहेको बताउनुभएको छ।
तीज पर्व केवल हिन्दूहरूको मात्रै नरहेको बताउँदै उहाँले नेपालको सबै जातजाति, भाषा, संस्कृति भएका, हिन्दू बौद्धजस्ता सनातन धर्म मान्नेहरूको साझा सांस्कृतिक पर्वका रुपमा रहेको स्पष्ट पार्नुभयो।
देशमा केही समय यता धर्म परिवर्तनले डरलाग्दो अवस्था सिर्जना गरेको र यसलाई समयमै सम्बोधन नगर्ने हो भने धार्मिक द्वन्द्वको खतरा बढ्न सक्नेमा सचेत रहनुपर्नेमा उहाँको जोड थियो।
पार्टीका वरिष्ठ नेता दीपक बोहराले सनातनदेखि कायम रहेको धार्मिक सहिष्णुता जोगाइराख्न तीज पर्वको आफ्नै विशिष्ट महत्व रहेको चर्चा गर्दै हिन्दू राष्ट्र पुनःस्थापना गरेर राष्ट्रिय पहिचान जोगाउन राप्रपा प्रतिवद्ध रहेको बताउनुभयो।
अर्का वक्ता सहायक महामन्त्री एवं राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी अध्यक्ष कुन्ती कुमारी शाहीले धर्म, संस्कृति र परम्परामाथि निरन्तर आक्रमण भइरहेकोले राष्ट्रिय पहिचानलाई जोगाउन सबै महिलाहरू एकजुट हुनुपर्ने अवस्था आइसकेको बताउँदै यो आन्दोलनलाई परिणाममुखी बनाउन राप्रपाको झण्डामुनी गोलबद्ध हुन आममहिलावर्गलाई आग्रह गर्नुभयो।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं राप्रमसंका सहअध्यक्ष निना भेटवाल, केन्द्रीय सदस्य एवं राप्रमसं ३ नं. प्रदेश समितिका अध्यक्ष नानु नगरकोटी, राप्रमसंका सचिवद्वय मिरा खनाल कुँवर, सरला विकलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो।
राप्रमसंमा समाहित भई पार्टी र संगठनलाई योगदान पुर्याएका १२ जना महिलाहरूलाई सो अवसरमा सम्मान गरिएको थियो। यसरी सम्मानित हुनुहुने महिलाहरूमा पूर्वसभासद् सरोज शर्मा, मानकुमारी मल्ल, गंगा विक, कविता शाह, जानकी न्यौपाने, चन्द्रकला गुरुङ, अम्बिका थापा, देवकुमारी पराजुली, सुकु लामा, सीता थापा, कल्पना वसेल, बुद्धमाया पुतुवार रहनुभएको छ।











प्रतिक्रिया