नेपाल समाचारपत्र, काठमाडौं ।काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य बुधबार पञ्चदानमा सहभागी हुनुभएको छ। पञ्चदान पर्व मनाउने क्रममा मेयर शाक्य दान लिन विभिन्न विहारमा जानुभएको हो। मेयर शाक्यसंगै महानगरपालिकाका अन्य शाक्य, वज्राचार्य वडाअध्यक्षहरू पनि सहभागी भएका थिए।
पञ्चदान दानसँग सम्बन्धित पर्व हो। पञ्चदानका दिन परम्परागत विहारका शाक्य वज्राचार्यलाई बुद्धका उपासकका रुपमा सम्मानका साथ स्वागत सत्कार गरी अन्न दान दिइन्छ।
मेयर शाक्यले पनि दान लिन जाने अन्य शाक्य वज्राचार्यको टोलीसँगै लामबद्ध भएर सर्वसाधारणबाट दान ग्रहण गर्नुभयो। अन्नमा धान, गहुँ, चामल, नुन, मासको दाल, मकै, केराउ र खीर दान दिने गरिन्छ।
पछिल्ला पुस्ताले यस पर्वको महत्व र सन्देश बिर्सिदै गएको अवस्थालाई मध्यनजर गर्र्दै यसलाई पुनःजागरण गर्न आफू सहभागी भएको मेयर शाक्यले बताउनुभयो। ‘मेयर पद त अस्थायी हो।
जनतासँगको सम्पर्क भने मेयर भए पनि नभए पनि चाहिन्छ । मेयर हुँदैमा आफ्नो भाषा, धर्म र संस्कृति बिर्सिनुहुन्न भनेर पनि सहभागी भएको हुँ’ –उहाँले भन्नुभयो।
पञ्चदानमा मेयर शाक्य सहभागी हुनुभएपछि दान दिने र लिनेहरूको मुहारमा थप प्रसन्नता थपिएको भाव झल्किन्थ्यो।
बिहारमा दान गर्नका लागि नेवार बौद्ध धर्मावलम्बीहरूको भीड लागेको थियो। दान लिन जानेहरूको संख्या घट्दै गएपछि पछिल्लो समय विभिन्न विहार, संघसंस्था, समूहहरूले पर्व संरक्षण गर्ने अभियान नै चलाएको थियो।
पञ्चदानलाई नेपाल भाषामा पंजदान ‘पंजरां’ भनिन्छ। पञ्चदानको दिनमा पृथ्वीबाट उब्जेको अन्न र फलफूल आदि पाँच प्रकारका वस्तु दान गरिने भएकाले पञ्चदान भनिएको हो। यस पर्व बुद्ध दर्शनको दान पारमितामा आधारित छ।
दान भावनाले समाज सुधार, दुर्गति निवारण एवं शान्ति छाउने जनविश्वास रहि आएको छ।यसलाई दान दिवसको रुपमा मान्यता दिनुपर्ने बहसहरू उठिरहेको बेलामा महानगरपालिकाका मेयर शाक्य नै सहभागी हुनुभएपछि बहसलाई अघि बढाउन बल मिलेको नेपाल परम्परागत बौद्ध धर्म संघका बज्राचार्य गुरुजुहरू बताउँछन्।
पर्व मनाउने क्रममा विभिन्न चोकहरूमा दिपंकर बुद्ध, बसुन्धरा र करुणामयका मूर्तिहरू पुजा गरिएको छ। हरेक वर्ष श्रावण कृष्ण त्रयोदशीका दिन काठमाडौं र भक्तपुरमा यस पर्व मनाउने गर्दछ। ललितपुरमा यो पर्व श्रावण शुल्क अष्टमीको दिन मनाइने गरिन्छ।
विभिन्न महाविहारका दिपंकरलाई विभिन्न भेषभुषा र गहनाका साथ सजाएर अघिल्लो दिन नै राखिएको थियो। यो पर्व काठमाडौं उपत्यकालगायत बनेपा पनौती धुलिखेलमा पनि मनाउने गरिन्छ।
पञ्चदानका क्रममा नेपालमा दान गर्ने परम्परा लिच्छवी राजा वृषदेवको समयदेखि नै थियो भन्ने कुरा विभिन्न अभिलेखहरूमा पाइन्छ। मानदेव, शिवदेव, अंशुवर्मालगायतका लिच्छवी राजाहरूको पालामा मात्र नभई मल्लकालमा पनि यस परम्परालाई विभिन्न गुठीहरूको व्यवस्था गरी पर्वहरूको व्यवस्थापन गरेको पाइन्छ।
पञ्चदान पर्व मनाइयो
भाद्र कृष्ण त्रयोदशीका दिन भव्यरूपमा मनाइने पञ्चदान पर्व भक्तपुरमा मनाईएको छ। बौद्ध धर्मावलम्बीको महत्वपूर्ण एवम् ठूलो पर्वका रूपमा मनाइने पञ्चदान पर्वमा भक्तपुरका पाँच बिहारबाट निस्केका दिपङ्कर दिनभर नगरको विभिन्न तथा बौद्ध बिहारहरूमा परिक्रमा गराई मनाउने परम्परा रहेको छ।
दिपङ्कर बुद्ध भनेर पुजिने बुद्धको पाँच स्वरूपमध्ये भक्तपुरको क्वाठन्डौको प्रसन्नाशील महाविहार, गोल्मढीको झौरवैही महाविहार, साकोथाको चर्तुब्रह्म महाविहार, भार्वाचोको थधुबही महाविहार र दूधपाटीको कथुबही महाबिहारबाट निस्किएर बिहानैदेखि नगरको परिक्रमा गरेको थियो।
स्थानीयले बिहानैदेखि पञ्चदान दिने परम्पराअनुसार शाक्य, वाहवाही भिक्षुलाई भिक्षा दान दिएका थिए भने पाँच दीपङ्कर बुद्धलाई जमिनमा उत्पादन भएका काँचो खाद्यवस्तु धान, मकै, गहुँ, भटमास आदि दिएका थिए।











प्रतिक्रिया