गोकुल घोरसाइने, बारा । पसलबाट चकलेट चोरेको आरोपमा बाराको कलैया उपमहानगरपालिका–१२ का वडा अध्यक्ष राजेश्वर केशरीले तीन बालकलाई शारीरिक र मानसिक यातना दिएका छन्।पीडित बालकका अभिभावकले हिजो कलैयामा पत्रकार सम्मेलन गरी वडा अध्यक्ष केसरीले बालकलाई शारीरिक र मानसिक यातना दिएको बताएका हुन्।
वडा अध्यक्ष केशरीले स्थानीय रामपूजन मण्डलको नौ वर्षीय छोरा रुपेश मण्डल, जग्गा पासवानको १० वर्र्षीय छोरा गुलशन पासवान तथा नथुनी साह गोढको ११ वर्र्षीय छोरा राहुल गोढलाई पसलबाट चकलेट चोरेको आरोपमा यातनासहित दुव्र्यवहार गरेका हुन्।
स्थानीय हीरा केशरीको पसलबाट चकलेट चोरेको आरोपमा नियन्त्रणमा लिइएका ती बालकलाई हात बाँधेर वडा अध्यक्षको जिम्मा लगाएपछि उनीहरूलाई रातभरि अध्यक्ष केशरीले आफ्नो घरमा राखेका थिए।
‘राति खाना पनि खान दिइएन’, अभिभावसँग आएका बालबालिकाहरूले पत्रकारलाई भने– ‘उल्टै अध्यक्षले कपाल पनि मुण्डन गरिदिए।’ घटना गत भदौ १ गतेको भए पनि वडा अध्यक्ष केशरीलागायतले अभिभावकलाई घटना बाहिर नलैजान दिएको दबाबका कारण ढिलो गरी सार्वजनिक भएको हो।
‘घटनाबारे गाउँबाहिर कलैलाई पनि नभन्नु भनेका थिए’, पीडित बालकका एक अभिभावक गुगल पासवानले भन्नुभयो– ‘प्रहरी प्रशासनले पनि दोषीलाई कारबाही गर्न चासो नदेखाएपछि बाध्य भएर पत्रकार सम्मेलन गर्नुपर्यो।’
उहाँले पत्रकार र मानवअधिकारकर्मीलाई जानकारी गराउनेमाथि सामाजिक रुपमा थप जरिवाना र कारबाही हुने धम्कीसमेत दिएको सुनाउनुभयो। घटनालगत्तै दुव्र्यवहार गर्नेमाथि कारबाही माग गर्दै जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गर्न जाँदा मुद्दा फाँटका प्रहरी निरीक्षक चन्द्रकिशोर साहले चासो नदिएको अभिभावकसंग प्रहरी कार्यालय पुग्नुभएकी निर्माण तथा भौतिक योजना पूर्व सहायकमन्त्री कलावती पासवानले बताउनुभयो।
प्रहरी निरीक्षक साहले वडा अध्यक्षविरुद्ध मुद्दा दर्ता नहुने भन्दै फर्काएको पासवान बताउनुहुन्छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक रञ्जित सिंह राठौरले घटनाको बारेमा अनुसन्धान भइरहेको र दोषी पाइए कारबाही हुने बताउनुभयो।











प्रतिक्रिया