सुनील महर्जन, काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य बुधबार पञ्चदानमा सहभागी हुनुभएको छ ।
पञ्चदान पर्व मनाउने क्रममा मेयर शाक्य दान लिन विभिन्न विहारमा जानुभएको हो । मेयर शाक्यसंगै महानगरपालिकाका अन्य शाक्य, बज्रचार्य वडाअध्यक्षहरु पनि सहभागी भएका थिए ।
पञ्चदान दानसंग सम्बन्धित पर्व हो । पञ्चदानका दिन परम्परागत विहारका शाक्य वज्राचार्यलाई बुद्धका उपासकका रुपमा सम्मानका साथ स्वागत सत्कार गरी अन्न दान दिईन्छ । मेयर शाक्यले पनि दान लिन जाने अन्य शाक्य बज्रचार्यको टोलीसंगै लामबद्ध भएर सर्वसाधारणबाट दान ग्रहण गर्नुभयो । अन्नमा धान, गहु“ ,चामल, नून, मासको दाल, मकै, केराउ र खीर दान दिने गरिन्छ ।
पछिल्ला पुस्ताले यस पर्वको महत्व र सन्देश बिर्सिदै गएको अवस्थालाई मध्यनजर गर्र्दै यसलाई पुनःजागरण गर्न आफू सहभागी भएको मेयर शाक्यले बताउनुभयो । ‘मेयर पद त अस्थायी हो । जनतासंगको सम्पर्क भने मेयर भएपनि नभएपनि चाहिन्छ । मेयर हुँदैमा आफ्नो भाषा, धर्म र संस्कृति बिर्सिनुहुन भनेर पनि सहभागी भएको हुँ ।’ मेयर शाक्यले भन्नुभयो ।
पञ्चदानमा मेयर शाक्य सहभागी हुनुभएपछि दान दिने र लिनेहरुको मुहारमा थप प्रसन्नता थपिएको भाव झल्किन्थ्यो । विहारमा दान गर्नका लागि नेवार बौद्ध धर्मावलम्बीहरुको भीड लागेको थियो । दान लिन जानेहरुको संख्या घट्दै गएपछि पछिल्लो समय विभिन्न विहार, संघसंस्था, समूहहरुले पर्व संरक्षण गर्ने अभियान नै चलाएको थियो ।

पञ्चदानलाई नेपाल भाषामा पंजदान ‘पंजरां’ भनिन्छ । पञ्चदानको दिनमा पृथ्वीबाट उब्जेको अन्न र फलफूल आदि पा“च प्रकारका वस्तु दान गरिने भएकाले पञ्चदान भनिएको हो । यस पर्व बुद्ध दर्शनको दान पारमितामा आधारित छ । दान भावनाले समाज सुधार, दुर्गति निवारण एवं शान्ति छाउने जनविश्वास रहि आएको छ ।
यसलाई दान दिवसको रुपमा मान्यता दिनुपर्ने बहसहरु उठिरहेको बेलामा महानगरपालिकाका मेयर शाक्य नै सहभागी हुनुभएपछि बहसलाई अघि बढाउन बल मिलेको नेपाल परम्परागत बौद्ध धर्म संघका बज्राचार्य गुरुजुहरु बताउँछन् ।
पर्व मनाउने क्रममा विभिन्न चोकहरुमा दिपंकर बुद्ध, बसुन्धरा र करुणामयका मूर्तिहरु पुजा गरिएको छ । हरेक वर्ष श्रावण कृष्ण त्रयोदशीका दिन काठमाडौं र भक्तपुरमा यस पर्व मनाउने गर्दछ । ललितपुरमा यो पर्व श्रावण शुल्क अष्टमीको दिन मनाईने गरिन्छ । विभिन्न महाविहारका दिपंकरलाई विभिन्न भेषभुषा र गहनाका साथ सजाएर अघिल्लो दिन नै राखिएको थियो। यो पर्व काठमाडौं उपत्यका लगायत बनेपा पनौती धुलिखेलमा पनि मनाउने गरिन्छ । 
पञ्चदानका क्रममा नेपालमा दान गर्ने परम्परा लिच्छवि राजा वृषदेवको समयदेखि नै थियो भन्ने कुरा विभिन्न अभिलेखहरुमा पाइन्छ । मानदेव, शिवदेव, अंशुवर्मा लगायतका लिच्छवि राजाहरुको पालामा मात्र नभई मल्लकालमा पनि यस परम्परालाई विभिन्न गुठीहरुको व्यवस्था गरी पर्वहरुको व्यवस्थापन गरेको पाइन्छ ।











प्रतिक्रिया