बंगलादेशमाथि नेपालको सानदार जित

94
Shares

नेपाल समाचारपत्र, काठमाडौं। नेपालको १५ वर्षमुनिको राष्ट्रिय फुटबल टोलीले साफ यू–१५ फुटबल च्याम्पियनसिपमा सानदार जित हात पारेको छ। नेपालले मंगलबार भएको खेलमा बंगलादेशलाई ४–१ गोलअन्तरले हरायो।

भारतको कल्याणीमा जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो। यो जितसँगै नेपाल ३ खेलमा ६ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लियो। ५ टोली सहभागी प्रतियोगितामा बंगलादेशको पनि ६ अंक रहे पनि नेपाल हेड टु हेडमा दोस्रो स्थानमा उक्लिएको हो।

आयोजक भारतको टोली भने लगातार तीन खेल जित्दै ९ अंकसहित पहिलो स्थानमा रहेको छ।नेपालको जितमा कप्तान प्रदीप लम्साल र कृष्ण यादवले २÷२ गोल गरेका थिए।

कृष्णले पहिलो हाफको इन्जुरी समयमा गोल गरेर नेपाललाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए। प्रदीपले ५२औं मिनेटमा एक गोल थपेर टोली अग्रता दोब्बर पारे। तर ७९औं मिनेटमा बंगलादेशका मियाले गोल फर्काएर गोलअन्तर खुम्च्याए।

यसको एक मिनेटमै प्रदीपले व्यक्तिगत दोस्रो गोल गरेर बंगलादेशलाई खेलमा फर्कने मौका नै दिएनन्। खेल सकिन लाग्दा कृष्णले टोलीको चौथो गोल गरेका थिए।
नेपाली युवा टोलीको शुरुआती राम्रो भएको थिएन।

भारतसँग ५–० को भारी गोलअन्तरले हार्नुपरेको नेपालले यसपछि जित दर्ता गरिरहेको छ। नेपालले दोस्रो खेलमा श्रीलंकालाई २–० ले पन्छाएर प्रतियोगितामा पहिलो जित हासिल गरेको थियो। नेपालले अर्को खेल भुटानसँग खेल्नेछ। शीर्ष दुई टोली फाइनलमा पुग्नेछन्।