प्रदेश १ मा ३३ सशस्त्र बीओपी रतुवामाईमा सीमा प्रहरी चौकीको शिलान्यास 

0
Shares

नेपाल समाचारपत्र, मोरङ। प्रदेश १ सरकारले सिमाक्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन १७ वटा सशस्त्र प्रहरीको बीओपी थप गरी ३३ पुर्याएको छ।
प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले सीमा क्षेत्रमा हुने तस्करी र लागूपदार्थको ओसारपसार रोक्न सीमा सुरक्षा पोस्ट थप गरिएको बताउनुभएको हो।

मोरङको रतुवामाई नगरपालिकामा सीमा प्रहरीचौकीको शिलान्यास कार्यक्रममा बोल्दै उहाँले जनतालाई सुरक्षाको थप प्रत्याभूति दिलाउन प्रदेश प्रहरी कार्यालयसहित ५१ वटा प्रहरी भवन बनाउने कार्य थालिएको बताउनुभयो।

मन्त्री कार्कीले झापा, मोरङ र सुनसरीमा भारतसँग १ सय ५० किलोमिटर खुला सीमाक्षेत्र रहेको जानकारी दिनुभयो। कार्यक्रममा मन्त्री कार्कीले जनताको जीउधनको सुरक्षालाई प्रदेश सरकारले पहिलो एजेन्डाको रूपमा राखेर कार्य गरिरहेको बताउनुभयो।

यस्तै प्रदेश १ प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीले शान्तिसुरक्षालाई थप सुदृढ बनाउन नागरिकसँग सहकार्य गर्दै सूचनाको जालो बनाएर शान्ति सुरक्षा कायम गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रम ल्याइएको बताउनुभयो।

यसअघि मन्त्री कार्कीले रतुवामाई नगरपालिका–२ डोरियामा सीमा प्रहरी भवनको शिलान्यास गर्नुभएको थियो। सो ठाउँमा साढे ५ कट्ठा क्षेत्रफलमा प्रदेश सरकारको करिब १ करोड ३९ लाखको लागतमा साँढे २ तल्ले आधुनिक भवन निर्माण हुन लागेको हो।

एक वर्षमा निर्माण सम्पन्न हुने भवनमा ब्यारेक हल, महिला र पुरुष कैदीबन्दी कोठा र शौचालयलगायत ११ वटा कोठा निर्माण गरिने शहरी विकास तथा भवन कार्यालय प्रदेश एकाइका इन्जीनियर रामसुवरण चौधरीले जानकारी दिनुभयो।