महिनैपिच्छे थपिँदै बालश्रमिक नगरपालिकाले अभिभावकको पाएन साथ 

0
Shares

नेपाल समाचारपत्र, डोटी। होटेल तथा व्यक्तिगत घरहरूमा बालश्रमिकहरू धमाधम थपिन थालेपछि डोटीको दिपायल सिलगढी नगरपालिकालाई बालश्रममुक्त नगरपालिका बनाउने अभियानमा चुनौती थपिन थालेको छ।

पटक पटक पत्राचार गरी बालश्रमिक नराख्न आग्रह गरे पनि अभिभावकले त्यसको वास्ता नगर्दा समस्या देखिन थालेको दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्रबहादुर खड्काले बताउनुभयो। उहाँले भन्नुभयो, ‘बालश्रमिक नराख्न हामीले पटक पटक आग्रह गरेका छौं, तर अभिभावक नै साथ दिँदैनन्, हामीलाई चुनौती भैसक्यो।’
पछिल्लो समय नगरपालिकाका विभिन्न होटेल तथा व्यक्तिगत घरमा बालश्रमिक धमाधम थपिनथालेका छन्। लामो समयदेखि नगरपालिकाले सञ्चालन गरेको बालश्रमिक हटाउने अभियानलाई चुनौती दिँदै दुई जना नयाँ बालबालिका श्रमिकको रूपमा भित्रिएको पाइएपछि नगरपालिकालाई चुनौती भएको हो।

बालश्रममुक्त नगरपालिका बनाउने अभियानलाई थप प्रभावकारी बनाउन नगरपालिकाले आयोजना गरेको सर्वपक्षीय बैठकमा दुई बालबालिका नयाँ बालश्रमिक थप भएको जानकारी दिइएको हो।

श्रमिक बालबालिकाका अभिभावक र मालिकसँग नगरपालिकाले बालश्रम अन्त्य गर्नका लागि पटक पटक छलफल चलाएको भएपनि खासै प्रभावकारी हुन नसकेको स्थानियबासीको अनुभव रहेको छ।

बालश्रम उन्मूलन नीति बनाउने, बालश्रमिक नभएको घरमा हरियो झन्डा गाड्ने, अभिभावकलाई सम्झाइ बुझाइ गर्ने, आर्थिक सहयोग गर्ने र बालबालिकाको तथ्यांक संकलन गर्ने क्रियाकलाप नगरपालिकाले सम्पन्न गरे पनि अभिभावकको साथ नमिल्दा बालश्रम अन्त्य हुन नसकेको नगरपालिकाको गुनासो छ।

बालश्रममुक्त नगर बनाउने अभियानले यसअघि नगरक्षेत्रभित्र रहेका ६४ बालश्रमिकलाई श्रममुक्त गरिएकोमा ५ बालबालिका फेरि मालिकको घरमा बस्न आएको भन्ने जानकारी प्राप्त भएको नगरपालिकाका सामाजिक विकास अधिकृत रमेशचन्द्र जोशीले बताउनुभयो। उहाँले भन्नुभयो, ‘नगरपालिकाले बालश्रम अन्त्य गरौं भनेर लागिपरेको छ, अभिभावक फेरि छोरा छोरी बालश्रममा पठाउँछन्। यो भन्दा ठुलो दुःखको कुरो के होला र ?’

‘दुई बालबालिका नयाँ श्रमिकको रूपमा आएका छन्’, सामाजिक विकास अधिकृत जोशीले भन्नुभयो, ‘हामीले अभियान चलाउँदाचलाउँदै पनि नगरका केही व्यक्तिले फेरि गाउँबाट बालबालिका ल्याएर श्रमिक बनाउने काम गर्दैछन्, बुझ्नेले नै बुझ् पचाए कसलाई के भन्ने !’
यसरी दिनहुँ बालश्रमिक राख्नेका विरुद्ध नगरपालिका अब कानुनी प्रक्रियामा जाने तयारीमा रहेको नगर प्रमुख मञ्जु मलासीले बताउनुभयो। उहाँले भन्नुभयो, ‘बालश्रमिक नराख्नु भन्दाभन्दै अटेर गर्नेका बिरुद्ध कानुनी बाटो नखोजी भएन, नगरपालिका अब कानुनी बाटोमा जान्छ।’
जिल्लामा पटक पटक चेतनामूलक कार्यक्रम सञ्चालन गर्दा समेत श्रमिक बालबालिकालाई श्रममुक्त गराउन नमान्ने होटेल मालिकलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो। उहाँले भन्नुभयो, ‘जसले बालश्रमिक राख्छ, त्यसलाई कानुनी उपचार नगरेसम्म अब हुनेवाला छैन्, कानुनी कारबाही गर्नुपर्ने बेला आयो।’

यसअघि नगरपालिकाले बालश्रममुक्त गराएका ५९ बालबालिकामध्ये बिपन्न परिवारका २० बालबालिकालाई नगरपालिकाले आबासीय सुबिधासहित विद्यालय भर्ना गरेको छ। उनीहरूको सबै खर्च नगरपालिकाले व्यहोर्ने सर्तसहित विद्यालय भर्ना गरिएको हो। अन्य ३९ बालबालिकालाई उनीहरूका अभिभावकले घर लगी नजिकको विद्यालयमा भर्ना गराएको सामाजिक विकास अधिकृत जोशीले जानकारी दिनुभयो।

अभिभावकले घर लगेका बालबालिकाहरूलाई एक वर्षभरीका लागि पुग्ने पोशाकसहितको शिक्षण सामग्रीका लागि नगरपालिकाले आर्थिक सहयोग समेत गरेको थियो। यतिमात्र नभई घर लगिएका ३९ जना बालबालिकाका अभिभावकहरूलाई आयआर्जनका क्रियाकलापमा सहयोग गर्नेगरी नगरपालिकाले योजना बनाइरहेको नगरप्रमुख मलासीले बताउनुभयो।