गुप्सीपाखाको बस्ती पुनर्निर्माणको स्थलगत अवलोकन: प्राधिकरणद्वारा सम्झौताअनुसार काम सम्पन्न गर्न एनआरएनलाई ध्यानाकर्षण

0
Shares

नेपाल समाचारपत्र, गोरखा । २०७२ सालको विनाशकारी भूकम्पको कारण ध्वस्त लाप्राकको गुप्सीपाखाको नमुना बस्ती हस्तान्तरणअघि सम्झौतामा उल्लेख भएका सबै पूर्वाधार निर्माणको काम सक्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गैरआवासीय नेपाल संघको ध्यानाकर्षण गराएको छ। कुल ५ सय ७३ मध्ये हालसम्म ३० घरको निर्माण पूर्णरूपमा सकिएको छ।

कार्यकारी समिति सदस्य शर्मा, निर्देशक समिति सदस्य तारानिधि भट्टराई, नापी अधिकृत, भूगर्भविद्लगायतको टोलीले गएको असार १८ गते गुप्सी पाखामा निर्माणाधीन बस्तीको स्थलगत अध्ययन सम्पन्न गरी बुझाएको प्रतिवेदनका आधारमा गैरआवासीय नेपाली संघलाई नौ बुँदे ध्यानाकर्षण पत्र पठाएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताउनुभएको छ।

एकीकृत बस्ती निर्माणको काम गरिरहेको गैरआवासीय नेपाली संघ (एनआरएन) लाई पत्र लेख्दै प्राधिकरणले सम्झौतामा उल्लेख भएका सबै पूर्वाधार निर्माण गर्न ध्यानाकर्षण गराएको हो।

प्राधिकरणका कार्यकारी समिति सदस्य शर्मा नेतृत्वको टोलीले गएको असार १८ गते बस्ती निर्माणको स्थलगत अवलोकन गरेको थियो। सो क्रममा स्थानीय बासिन्दासँग गरिएको छलफललाई समेत आधार मानेर नौ बुँदे ध्यानाकर्षणपत्र पठाइएको प्राधीकरणको आवास तथा बस्ती विकास शाखाका सिनियर डिभिजनल इन्जिनियर राजकाजी श्रेष्ठले बताउनुभयो।

प्राधिकरणको पत्रमा बस्ती आसपासको आकाशे पानी, धाराको पानी र भान्छामा प्रयोग भएको पानीको दीर्घकालीन व्यवस्थापन गर्न, बस्ती बीचमा बन्न लागेको सडकमा नाला र ढलको व्यवस्थापन गर्न र शौचालय निर्माणमा थप ध्यान दिन सुझाव दिएको छ।
‘एकदेखि अर्को घरको बीचमा ट्वाइलेटको सेफ्टी ट्यांकी बनाइएको र त्यसमा सुख्खा पर्खाल लगाएको पाइयो’, कार्यकारी समिति सदस्य शर्माले भन्नुभयो, ‘सुख्खा पर्खालका कारण मलमूत्र फैलन सक्ने भएकाले सेफ्टी ट्यांकीको पानीलाई दीर्घकालीन व्यवस्था गर्न पनि हामीले भनेका छौं।’
यस्तै बस्तीको पानी निकास हुने खोल्सामा रहेको क्रसर उद्योग तत्काल बन्द गर्न पनि प्राधिकरणले भनेको छ। स्थलगत अनुगमनका क्रममा घरमा कमसल खालको झ्यालढोका प्रयोग भएको स्थानीय बासिन्दाले गुनासो गरेको कार्यकारी समिति सदस्य शर्माको भनाइ छ।

पहिले बनेका घरमा राम्रो झ्यालढोका प्रयोग भएपनि अहिले भने कम गुणस्तरका सामान प्रयोग गरिएको स्थानीय बासिन्दाको गुनासो छ। प्राधिकरणले बस्तीको माथिल्लो भागमा रहेको वनसहितको क्षेत्र भिरालो रहेकाले सो क्षेत्रमा ढुंंगामाटो झिक्न र रुख काट्न बन्द गर्नुपर्ने सुझाब पनि दिएको छ।

यस्तै बस्तीमा विद्युतीकरणका लागि समन्वय गर्न पनि ध्यानाकर्षण गराइएको सिनियर डिभिजनल इन्जिनियर श्रेष्ठले बताउनुभयो। ‘बस्ती निर्माण सम्बन्धी सम्झौतापत्रमा विद्युतीकरणको काम गैरआवासीय नेपाली संघले गर्ने भन्ने त छैन’ उहाँले भन्नुभयो, ‘घर हस्तान्तरणअघि विद्युतको काम कसले गर्ने भन्ने टुंगो लगाउने र त्यसको समन्वयका लागि भने आग्रह गरिएको हो।’