हेटौंडा, (नेस)। वन संरक्षणतर्फको आकर्षक मानिएको सर्वमान्य गणेशमान सिंह वन संरक्षण प्रथम पुरस्कार प्राप्त गर्न सफल हेटौंडा–६, चौघडाको रानी सामुदायिक वन उपभोक्ता समूहले आफ्नो वनक्षेत्रमा चरिचरण नियन्त्रण अभियान शुरू गरेको छ।
चरिचरण पशुपालकका लागि स्वभाविक र नियमित कार्यका रू्पमा लिइन्छ। पशुवस्तुलाई नियमित चरण गराउनु सामान्य जस्तो लागे पनि पर्यावरणीय चक्र र वातावरणीय संरक्षणका लागि खुला चरिचरण गराउनु अनुचित मानिन्छ।
रानी सामुदायिक वन उपभोक्ता समूहको २०७५ मंसिर २२ गते सम्पन्न २२ औं वार्षिक साधारणसभाको निर्णय र कार्यसमितिको भदौ ५ गतेको बैठकले चरिचरण नियन्त्रण गर्ने निर्णय गरिएको समूह अध्यक्ष कृष्ण बिडारीले बताउनुभयो। वनजंगलमा जडिबुटी, जैविक विविधता र वनको उत्पादकत्व बढाउन चरिचरण नियन्त्रण गर्ने निर्णय गरिएको समूहले जनाएको छ।
वन समूहले संरक्षण गरेको १ सय ३४ हेक्टरको वनक्षेत्रभरि चरिचरण गर्न रोक लगाएको समूहका कार्यालय सचिव भीमसेन पौडेलले बताउनुभयो। ‘वनजंगल एवम् वनस्पतिको वातावरण सन्तुलनमा ठूलो भूमिका हुन्छ।
चरिचरणमुक्त भएपछि प्राकृतिक दोहन रोकिन्छ। फलस्वरुप हरियाली बढ्नगई भू–क्षय नियन्त्रण हुनेछ,’ सचिव पौडेलले भन्नुभयो– ‘पशुपालन गर्ने उपभोक्तासँग पटक/पटकको छलफलपश्चात् चरिचरण नियन्त्रण गरिएको हो। चरिचरण नियन्त्रण गर्नु वनको लागि अति आवश्यक थियो।’
विश्वकै समस्याको रूपमा रहेको जलवायु परिवर्तनको असर कम गर्न चरिचरन नियन्त्रणले मद्धत गर्ने उहाँको विश्वास छ। चरिचरणमुक्त हुँदा प्राकृतिक, सामाजिक, पर्यावरणीय तथा विविध पक्षमा सकारात्मक प्रभाव पर्ने भएकोले चरिचरणमुक्त हुनु आवश्यक मानिएको छ।
चरिचरणमुक्त भएपछि किसानलाई स्वभाविकरूपले केही समस्या त पर्छ नै, तर गाउँ र भोलिका सन्ततिको भविष्य सुरक्षित गर्न स्थानीय किसान दत्तचित्त देखिएका छन्।
रानी सामुदायिक वन उपभोक्ता समूहले गरेको यस्तो प्रयास सराहनीय रहेको सब–डिभिजन वन कार्यालय हेटांैडाका फरेस्टर यदुकुमार घिमिरेले बताउनुभयो।











प्रतिक्रिया