पहिरो पीडितको परिवारलाई कुस्मा नगरपालिकाको एक लाख राहत 

0
Shares

नेपाल समाचारपत्र, पर्वत। जिल्लाको कुस्मा नगरपालिका–२ खुर्कोट बुढीस्वाँरामा गएको पहिरोमा पुरिएर मृत्यु भएका ७० वर्षीय रेमबहादुर चालिसेको परिवारलाई कुस्मा नगरपालिकाले राहत दिएको छ।

घरमाथिबाट आएको पहिरोले पुरेर ज्यान गुमाएका चालिसेको परिवारलाई कुस्मा नगरपालिकाले १ लाख ५ हजार रुपियाँ राहत दिएको हो। कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले मृतकको घरमै पुगेर राहत रकम हस्तान्तरण गर्नुभयो।

नगर प्रमुख जोशीले मृतककी छोरी कमला क्षेत्रीलाई राहत रकम हस्तान्तरण गर्नुभएको हो। हस्तान्तरण समारोहमा बोल्दै जोशीले नगरपालिकाले पीडितको पीडामा थोरै भएपनि मलम लगाउन सहयोग गरेको बताउँदै विपद्को बेला सबैले धैर्यधारण गर्नुपर्छ भन्नुभयो।

सोही अवसरमा नेपाल रेडक्रस सोसाइटी पर्वतका सभापति रुद्रबहादुर रिमालले राहत सामग्री वितरण गर्नुभएको थियो। गएको बुधबार राति घरमा सुतेको अवस्थामा घर भत्किएकाले चालिसेको ओछ्यानमा नै सिरक ओढेको अवस्थामा खनेर शव निकालिएको थियो।