विमल विष्ट, डोटी। डोटीमा गएको एक वर्षको अवधिमा विभिन्न घटनामा परी ५८ जनाको ज्यान गएको प्रहरीको एक तथ्यांकले देखाएको छ। त्यसमध्ये कारब एक तिहाई मृत्यु आत्महत्याको कारण भएको देखिएको छ।
जिल्ला प्रहरी कार्यालय डोटीको मुद्दा फाँटको रेकर्डअनुसार आर्थिक वर्ष २०७५–७६ को अवधिमा जिल्लाका विभिन्न स्थानमा भएका घटनामा परी उक्त संख्यामा मानिसको मृत्यु भएको हो।
त्यसमध्ये सबैभन्दा बढी झुन्डिएर आत्महत्या गर्नेको संख्या रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिनुभयो। अभिलेखअनुसार झुन्डिएर आत्महत्या गर्नेको संख्या २२ रहेको छ।
आत्महत्याका घटनामा वृद्धि भएकाले प्रहरीले जिल्लाका विभिन्न विद्यालयका सचेतनाका कार्यक्रम सञ्चालन गर्न प्रहरी युनिटहरूबाट पनि जनचेतना जगाउने कार्य जारी।
त्यस्तै भवितव्य ज्यान अन्र्तगत ११ जनाको मृत्यु भएको छ भने सवारी दुर्घटनामा परी अवधिमा १० जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयको रेकर्डमा उल्लेख गरिएको छ।
त्यस्तै विष सेवन गरी आत्महत्या गर्नेको संख्या ५ रहेको छ भने कर्तव्य ज्यान सम्बन्धी अपराधबाट ६ जनाको ज्यान गएको छ। त्यस्तै करेन्ट लागेर १, सवारी दुर्घटना १, आत्महत्या दुरुत्साहन १ र नदीमा हामफालेर १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीमा मुद्दा दर्ता नभए पनि ३ जनाको सर्पको टोकाइबाट ज्यान गएको र केही घटनाको प्रहरीमा मुद्दा दर्ता नभएको प्रहरीले जनाएको छ। यसै क्रममा आर्थिक वर्ष २०७६–०७७ को हालसम्मको अवधिमा कर्तव्य ज्यानमा १ जना र फुटकर ज्यान सम्बन्धी अपराधको कारणबाट २ गरी ३ जना पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ।
प्रवक्ता प्रहरी नायब उपरीक्षक धामीका अनुसार आत्महत्याको मुख्य कारण डिप्रेसन (तनाव) रहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘मान्छे विभिन्न कारणले डिप्रेसनमा पर्छ र आफ्नो जीवनसँग हारेर आफ्नो सहयोगी कोही नभएको, आफू कमजोर रहेको लगायतका सोचले अन्त्यमा आत्महत्याको निर्णयमा पुग्छ।’
आत्महत्या गर्नुका कारणमा परिवारबाट एक्लो हुनु, जीवनदेखि हार मान्नु, प्रविधिको दुरुपयोग, गलत व्यवहारमा संलग्न हुनु, श्रीमान्–श्रीमती लामो समय टाढिने, परीक्षामा असफलतालगायतका रहेको पनि धामीले बताउनुभयो।
आत्महत्याका घटना तुलनात्मकरूपमा हेर्दा पुरुषभन्दा महिलाका बढी देखिन गरेको उहाँले जानकारी दिनुभयो। यद्यपि डोटीमा आर्थिक वर्ष २०७५–०७६ मा आत्महत्या गर्ने महिला पुरुषको संख्या बराबर रहेको छ। यसमा ११/११ जना महिला पुरुषले आत्महत्या गरेको पाइएको छ।
हिजोका दिनमा गाउँ–गाउँमा विभिन्न महायज्ञ, पुराण, स्वस्थानी जस्ता धार्मिक कार्य बढी हुने र त्यसमा सत्कर्म गर्न प्रेरित गर्नुका साथै आत्मबल बढाउने कार्य गरिने भएका कारण आत्महत्या कम हुनेगरेको प्रहरी उपरीक्षक धामीको दाबी छ।
आत्महत्याका घटना रोक्नका लागि जीवनमा उत्प्रेरणा जगाउने खालका कार्यक्रम सञ्चालन गर्ने, स्वयं व्यक्तिले आत्मबल बढाउने, पारिवारिक सद्भाव कायम राख्ने, महिलाका हकमा हिंसा विरुद्ध खुलेर संघर्ष गर्नुपर्ने र पछिल्लो समयमा आत्महत्या दुरुत्साहनका लागि भएको कानुनी व्यवस्थाको कडाइका साथ कार्यान्वयन हुनुपर्ने अधिवक्ता शंकरदीप मडैको भनाइ छ।
प्रतिक्रिया