नेपाल समाचारपत्र, वीरगन्ज । पर्साको वीरगन्जमा सुविधा सम्पन्न बसपार्क निर्माण सम्पन्न भएको छ। बसपार्कको उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मंगलबार उद्घाटन गर्नुभएको भएको छ।
बसपार्क एक महिनाभित्र पूर्णरूपमा सञ्चालनमा ल्याइनेछ। त्यसका लागि महानगरपालिकाले सार्वजनिक–निजी–साझेदारी (पीपीपी मोडल) अवधारणाअन्तर्गत सञ्चालन ठेक्का प्रक्रिया अगाडि बढाइसकेको वीरगन्ज महानगरपालिकाले जनाएको छ।
पाँच वर्षे ठेक्काका लागि दुईपटक सूचना जारी भइसकेको, पछिल्लो पटक आवेदन परेको र प्राविधिक मूल्यांकनको काम अघि बढाइएको नगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘अब पीपीपी मोडलमा सञ्चालनको प्रक्रिया अगाडि बढिसकेको छ। एक महिनाभित्र पूर्णरूपमा सञ्चालनमा ल्याउछौं।’
कुल ५ विघा ५ कठ्ठा जग्गामा निर्माण गरिएको बसपार्क १५ महिनामा कार्य सम्पन्न गरिसक्ने गरी २०७१ सालमा ठेक्का सम्झौता गरिएको थियो। १७ करोड ७३ लाख ५० हजार ६ सय ३ रुपियाँ ८० पैसामा निर्माण सम्पन्न गर्ने गरी आशिष–पप्पु–रोशन जेभीले निर्माणको जिम्मा लिएकोमा १५ करोड ७० लाख ८६ हजार ८ सय ४१ रुपियाँ ८० पैसामा निर्माण सम्पन्न भएको महानगरपालिकाले जनाएको छ।











प्रतिक्रिया