भक्तपुर, (नेस)। बौद्ध धर्ममा विशेष महत्वका साथ वर्णन गरिने पञ्जरां पर्व (पञ्च दान पर्व) लाई नेपालमा दान दिवसका रूपमा मनाइनुपर्नेमा जोड दिइएको छ। भक्तपुरको नपुखुमा नेपाल परम्परागत बौद्धधर्म संघ, भक्तपुर शाखा, सम्यक महादान व्यवस्थापन समिति र नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर शाखाद्वारा आयोजित ‘पञ्च दान’ विषयक अन्तरक्रिया कार्यक्रममा पञ्जरां पर्व (पञ्चदान पर्व) लाई दिवसकै स्वरूप दिइनुपर्नेमा जोड दिइएको हो।
हरेक वर्ष गुंलागा त्रयोदशी (भाद्र कृष्ण त्रयोदशी) मा नेपाल मण्डलका बौद्ध धर्मावलम्बी नेवार समुदायले मनाउने यो पर्व हिन्दू धर्मावलम्बीले पनि महत्वपूर्ण पर्वका रूपमा मान्दै आएको र यसले दानलाई महत्व दिएकाले सर्वहिताय दान अभ्यासको प्रवद्र्धन गर्न यसलाई बृहत् रूपले सम्पन्न गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।
कार्यक्रममा बौद्ध धर्म विज्ञ पुष्परत्न शाक्यले बुद्ध धर्ममा पञ्जरां (पञ्चदान) दिनाले प्राप्त हुने फलका बारेमा व्याख्या गर्दै दान गर्नाले लोभ नाश भई मनमा शान्ति प्राप्त हुने बताउनुभयो।
महायान बौद्ध सिद्धान्तअनुरूप बुद्ध बन्नका लागि आवश्यक गुण धर्ममा दान सर्वप्रथम आउने हुनाले बौद्ध चर्याको प्रथम अभ्यासका रूपमा यसको परम्परा बसिआएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘यसलाई राष्ट्रिय पर्वका रूपमा प्रवद्र्धन गरिनुपर्दछ।
यो दिनमा प्रत्येक घरघरमा बौद्ध झण्डा र बुद्ध मूर्ति राखेर एक राष्ट्रिय पर्वका रूपमा मनाउनु आवश्यक छ। किनकि यस प्रकारको दानपर्व संसारमै कतै पनि देखिँदैन।’
अर्का विज्ञ शान्तरत्न वज्राचार्यले भक्तपुरमा पञ्चदानको हजार वर्षअघिको प्राचीनता भए पनि राष्ट्रिय अन्तर्राष्ट्रियरूपमा यसको प्रचार प्रसार हुन नसकेको भन्दै यसलाई राष्ट्रिय पर्वकै रूपमा मनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।
उहाँले भन्नुभयो– ‘नेपालको सांस्कृतिक नगर भक्तपुरको मौलिक र प्राचीन पर्व तथा जात्राका रूपमा भए पनि यसको उचित प्रचार प्रसार भएको देखिँदैन। त्यसैले यसको राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा प्रचार प्रसार हुनु पर्दछ।’
भाद्र कृष्ण त्रयोदशीका दिन भव्यरूपमा मनाइने पञ्चदान पर्व बौद्ध धर्मावलम्बीको महत्वपूर्ण एवं ठूलो पर्वका रूपमा मनाइने गरिन्छ। पञ्चदान पर्वमा भक्तपुरका पाँच विहारबाट निस्केका दिपङ्कर दिनभर नगरको विभिन्न तथा बौद्ध विहारहरूमा परिक्रमा गराई मनाउने परम्परा रहेको छ।
दिपङ्कर बुद्ध भनेर पुजिने बुद्धको पाँच स्वरूपमध्ये भक्तपुरको क्वाठन्डौको प्रसन्नाशील महाविहार, गोल्मढीको झौरवैही महाविहार, साकोथाको चतुब्र्रह्म महाविहार, भार्वाचोको थधुबही महाविहार र दूधपाटीको कथुबही महाविहारबाट निस्किएर बिहानैदेखि नगरको परिक्रमा गरिन्छ।











प्रतिक्रिया