काठमाडौं, (नेस)।विकास साझेदारका अधिकारीबीच सहरी व्यवस्थापन र सुविधा वितरणका लागि साझेदारबीच समन्वय हुनुपर्ने निचोड निकालिएको छ। एकीकृत समन्वयात्मक विकासका लागि प्रधानमन्त्री कार्यालयदेखि मन्त्रालय, महानगर र विभागमा बैठक हुने गरेको छ।
हरेक बैठकमा उपस्थित हुने अधिकांश अधिकारी एउटै हुन्। हरेक बैठकको एजेन्डा पनि एउटै हो। महानगरको नेतृत्वमा विकासका साझेदारले आफ्ना योजना कार्यान्वयनमा इमानदार हुनुपर्ने निष्कर्षसमेत निकालेका छन्।
बैठकमा कामपा महानगरका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले अहिलेसम्म भएका कामबाट सन्तुष्ट हुने अवस्था नरहेको बताउनुभयो। सरोकारवाला निकायलाई चेतावनी दिँदै उहाँले भन्नुभयो– ‘सडकमा परेका खाल्टाले यातायात आवतजावत गर्न समस्यामा परेको छ।’
कामपाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले सुधारका केही राम्रा परिणाम देखिएको उल्लेख गर्दै तुलनात्मकरूपमा यस वर्ष जमल, पुतलीसडकलगायतका क्षेत्रमा डुबान कम भएको बताउनुभयो।
नेपाल विद्युत् प्राधिकरणका उपप्रबन्धक थिरकुमार खत्रीले सडक निर्माण गर्ने क्रममा आफूलाई सूचना दिने भए त्यस क्षेत्रबाट वितरण हुने बिजुलीलाई भूमिगत गर्ने बताउनुभयो। आफ्ना कामका बारेमा जानकारी दिने क्रममा डिभिजन सडक कार्यालयका प्रमुख कैलाशकुमार श्रेष्ठले गौशालादेखि चाबहिलतर्फको सडक कालोपत्रे हुने चरणमा रहेकोले त्यहाँ कुनै निकायको केही काम गर्न बाँकी भए गर्न आग्रह गर्नुभयो।
त्यस्तै महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी किरण वज्राचार्यले शहरमा राखिएका सीसीटिभिको प्रभावकारिताका लागि रातको समयमा पर्याप्त प्रकाश आउने बत्ती राख्नुपर्नेमा जोड दिनुभयो।











प्रतिक्रिया