एनआरएनए पोर्चुगलको नेतृत्वमा कांग्रेसको बाहुल्य

0
Shares

दीपेन्द्र गजुरेल, स्पेन। गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् पोर्चुगलको नेतृत्वसहित अधिकांश पदमा नेपाली कांग्रेस निकटका उम्मेदवार विजयी भएका छन्।

संघको सातौं अधिवेशनबाट परिषद् सदस्यमा रवीन अधिकारी र नारायणकाजी मगर निर्वाचित भएका छन् भने संयुक्त गठबन्धनका गोविन्द सापकोटा र धन शेर्पा पराजित भए। सन् २०१९–२०२१को कार्यकालका लागि अध्यक्षमा कांग्रेसका उम्मेदवार तिलकप्रसाद गैरेले तीन मतको झिनो अन्तरले संयुक्त गठबन्धनका उम्मेदवार ईश्वर रिजाललाई पराजित गरे।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा पनि कांग्रेसका भीमसेन थापा चुनिएका छन्। उनले गठबन्धनका उम्मेदवार आनन्द गुरुङलाई हराए। दुई उपाध्यक्षमा पनि कांग्रेसकै अशोक गुरुङ र मच्छिन्द्र अर्याल निर्वाचित भएका छन्। गुरुङ र अर्यालले गठबन्धनका पेमाछिरी शेर्पा र स्वतन्त्र उम्मेदवार गणेश पाण्डेयलाई पराजित गरे।

महासचिवमा भने संयुक्त गठबन्धनका हेमराज सुवेदी चुनिएका छन्। उनले कांग्रेसका उम्मेदवार प्रकाश कडरियालाई पराजित गरे। कोषाध्यक्षमा कांग्रेसका विक्रमजंग कुँवर र युवा संयोजकमा कांग्रेसकै दिनेश भण्डारी विजयी भएका छन्।

अधिवेशनअघि नै महिला उपाध्यक्षमा सीता श्रेष्ठ, महिला संयोजकमा सुशीला थापा, सचिवमा यामिन्द्र घर्ती र प्रकाश ढकाल तथा सह–कोषाध्यक्षमा तिलक कँडेल निर्विरोध निर्वाचित भएका थिए। कार्यसमितिका १५ सदस्य पनि निर्विरोध चुनिएका छन्।

आइतबार सम्पन्न अधिवेशनमा कांग्रेस एक्लै प्यानल बनाएर निर्वाचनमा होमिएको थियो भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा), आदिवासी जनजाति महासंघ तथा समाजवादी पार्टीले छुट्टै गठबन्धन बनाएका थिए। पोर्चुगलमा शीर्ष नेतृत्वसहित यति धेरै पदमा निर्वाचन भएको पहिलो अभ्यास हो।

मतगणनापछि आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता वीरबहादुर बलायरले निर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र प्रदान गरे। संघका अन्तर्राष्ट्रिय परिषद् उपाध्यक्ष कुल आचार्यले शपथ गराए।

नवनियुक्त पदाधिकारीलाई निर्देशन दिँदै नेता बलायरले राजनीतिक आस्थाका आधारमा नभई नेपालीपन र सेवा भावका आधारमा काम गर्न सुझाए। गैरआवासीय नेपालीको साझा समस्या समाधानका लागि सरकार र पार्टीले लिनुपर्ने नीतिका बारेमा सुझाव दिन उनले आग्रह गरे।

त्यस्तै, संघका उपाध्यक्ष आचार्यले गैरआवासीय नागरिकले अघि सारेका नागरिकता र अन्य समस्याबारे संघले गरिरहेका प्रयासबारे जानकारी दिए। त्यसै गरी पोर्चुगलका लागि नेपाली अवैतनिक वाणिज्यदूत मकर हमालले नयाँ नेतृत्वलाई बधाई दिँदै समस्या समाधानका लागि एकजुट हुन आग्रह गरे।

सोही कार्यक्रममा निवर्तमान अध्यक्ष कुवेर कार्कीले नवनिर्वाचित समितिलाई कार्यभार हस्तान्तरण गरे। पोर्चुगलमा करिब २५ हजार नेपाली रहेको अनुमान गरिएको छ। एनआरएनएमा २ हजारभन्दा बढी सदस्य छन्। यो अधिवेशनमा १ हजार ३ सय ९८ सदस्यले मतदान गरेका थिए।