नेपाल समाचारपत्र, काठमाडौं। करिब दुई हजार सामुदायिक विद्यालयको कार्य सम्पादन मूल्यांकन गर्दा केबल एक विद्यालय मात्र उत्कृष्टको श्रेणीमा रहन योग्य देखिएको छ।सामुदायिक विद्यालयको गुणस्तर उपलब्धि, पठन–पाठन शैली, लगानीलगायतका विषयको कार्यसम्पादन परीक्षण गर्ने सरकारी निकाय शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ) ले सार्वजनिक गरेको प्रतिवेदनले यो निष्कर्ष निकालेको हो।
केन्द्रले २४ जिल्लाका १ हजार ९ सय ६७ र नमुना विद्यालयका लागि छनोट भएका पाँच जिल्लाका ३२ विद्यालय गरी १ हजार ९ सय ९९ सामुदायिक माध्यमिक विद्यालयको कार्य सम्पादन परीक्षण गरेको थियो।
सूचक गत प्राप्तांकअनुसार २४ जिल्लाका १ हजार ९ सय ६७ सामुदायिक माध्यमिक विद्यालयमध्ये १ हजार ६ सय ४४ वटा सामान्य, ३ सय ५ वटा मध्यम र १७ वटा कमजोर देखिएका छन्। केन्द्रले २ सय ६४ पूर्णाङ्कलाई आधार मानेर मूल्याङकन गरेको थियो।
दुई तिहाइभन्दा बढी विद्यालयको लगानी, प्रक्रिया र उपलब्धिका क्षेत्रमा औसत स्तर अत्यन्तै नाजुक रहेको केन्द्रका निर्देशक सहसचिव टेकनारायण पाण्डेले जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘अहिलेको मूल्यांकनमा झन्डै ८५ प्रतिशत विद्यालयको औसत मूल्यांकनअनुसार समग्र कार्यसम्पादन हेर्दा ८३ दशमलव ५८ प्रतिशत सामान्य अर्थात् १ हजार ६ सय ४४ विद्यालयको स्तर अत्यन्तै कमजोर देखिएको छ।
त्यस्तै शून्य दशमलव ८६ प्रतिशत अर्थात् १७ विद्यालय कमजोर र १५ दशमलव ५१ प्रतिशत अर्थात् ३ सय ५ विद्यालय मध्यमस्तरका रहेको प्रतिवेदनमा उल्लेख छ।
जिल्लागतरूपमा विश्लेषण गर्दा झापा, नवलपरासी, बझाङ, बाजुरा, भोजपुर, महोत्तरी र सल्यान जिल्लाका क्रमशः एक, नवलपरासी दुई, बझाङ, भोजपुर महोत्तरी र सल्यानका विद्यालय कमजोर स्तरका देखिए पनि यस्ता विद्यालयको सङ्ख्या उल्लिखित जिल्लाहरूमा ५५ भन्दा कम रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ। ती विद्यालयमध्ये कञ्चनपुर जिल्लाको एउटा विद्यालय मात्र उत्तम कार्यसम्पादन स्तरमा परेको छ।
२४ जिल्लामा कुनै पनि विद्यालयको अवस्था उत्तम देखिएको छैन। परीक्षण गरिएकामध्ये डोल्पा र भोजपुर २ जिल्लाका कुनै पनि विद्यालय मध्यमस्तरमा परेका छैनन्। बाँकी ३२ जिल्लामध्य सबैभन्दा बढी मनाङमा ७५ र रुकुममा सबैभन्दा कम दुई दशमलव ३ प्रतिशत विद्यालय मध्यम स्तरमा रहेका छन्।
नमुना विद्यालय विकासका लागि छनोट ३२ विद्यालयमा गरिएको परीक्षणबाट कार्यसम्पादन स्तर मापन गर्दा एउटा विद्यालय कमजोर, २३ वटा सामान्य र ८ वटा मध्यम स्तरमा रहेका छन्। प्रतिशतका हिसाबले मध्यमस्तरमा सबैभन्दा बढी रौतहट जिल्लाका ४२ दशमलव ८६ प्रतिशत छ।
जिल्लाभित्रका विद्यालयहरूको औसतका हिसाबले हेर्दा सबै २४ जिल्लाका विद्यालयको औसत स्तर सामान्य भए तापनि औसत प्राप्ताङ्क बढी हुने जिल्लामा मनाङ ६९ दशमलव ८१ र काठमाडौं ६९ दशमलव ४५ तथा सबैभन्दा कम हुने जिल्लामा भोजपुर ५२ दशमलव २२ र बझाङ ५४ दशमलव ६९ प्रतिशत रहेको छ।
केन्द्रका उपनिर्देशक हरि दाहालले चालू आवमा १३ जिल्लाका १ हजार र आव ०७७÷७८ मा ९ सय ४१ विद्यालयको कार्यसम्पादन परीक्षण गर्ने जानकारी दिनुभयो। उहाँका अनुसार बजेटअनुसार विद्यालयको कार्यसम्पादन परीक्षण गर्ने उद्देश्य छ।











प्रतिक्रिया