केयूमा योग शिक्षा तालिम

0
Shares

नेपाल समाचारपत्र, काभ्रे । पतञ्जली योग समिति काभ्रे र धुलिखेल नगर समितिको संयुक्त आयोजनामा सञ्चालित १० दिने उपयोग शिक्षक तालिम मंगलबार सम्पन्न गरियो।

कार्यक्रमका प्रमुख अतिथि धुलिखेल नगरपालिकाका उपप्रमुख बिमला शर्माले अनुशासन र धैर्यताका साथ ज्ञान र सीप सिक्नका लागि १० दिने योग प्रशिक्षण अत्यन्तै महत्वपूर्ण हो भन्नुभयो। उहाँ भन्नुहुन्छ– ‘योगले शारीरिक मात्र नभै मानसिक रूपमा पनि तन्दुरुस्त पार्छ।

योगले मानिसको मनभित्रको चञ्चलतालाई केन्द्रित गरी मद्दत गर्छ। सकारात्मक सोचका साथै परिवार, समाज र देश नै परिवर्तनका लागि योगको भूमिका महत्वपूर्ण हुन्छ। समाजमा भएका विकृति र विसंगति हटाउनका लागि महिला र पुरुषको समान सहभागिताले मात्र सम्भव छ।’

उपप्रमुख शर्माले योगको उपयोग शिक्षक तालिमका सहभागी ७७ जनालाई प्रमाणपत्र प्रदान गर्नुभयो। तालिममा काठमाडांै विश्वविद्यालयका प्राध्यापकदेखि कर्मचारी र धुलिखेल, पनौती, बनेपा, पाँचखाल क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।

सोही कार्यक्रममा नेपाल समाचारपत्रका सहसम्पादक भगवती तिमल्सिनालाई पनि निष्पक्ष र निडर भएर समाचार सम्प्रेषण गर्ने व्यक्तिका रूपमा औंल्याउँदै आगामी दिनमा पनि यसरी नै अघि बढ्ने हौसला प्रदान गर्दै सम्मान गरिएको थियो।

कार्यक्रममा पतञ्जली योग समिति प्रदेश नं ३ का प्रमुख ग्रोविन तौजलेका साथै पतञ्जली योग धुलिखेल नगर समितिका प्रमुख राजु श्रेष्ठलगायतले सम्मानित तिमल्सिनाको हालसम्म सम्प्रेषण गर्दै आएका निष्पक्ष समाचारका बारेमा चर्चा गर्नुभएको थियो।

तौजलेले योगका माध्यमबाट मानव जागरण कार्यक्रम गरी समाजलाई रूपान्तरण गर्न सकिन्छ भन्नुभयो। उहाँले काभ्रेमा आफूले १५ वर्षदेखि गरेको योग र अनुभव सुनाउँदै हरेक मानिसलाई कुनै पनि निर्णय लिनका लागि मनलाई बलियो बनाउनुका साथै उत्साहको खाँचो हुन्छ त्यसको पूर्ति योगसाधनाले मात्र गर्न सक्छ।

हामी सबै लागौं अवश्य सफल हुन्छ भन्नुभयो। पतञ्जली योग धुलिखेल नगर समितिका प्रमुख राजु श्रेष्ठले काभ्रे जिल्लालाई वडा, विद्यालय र विश्वविद्यालयसम्म योगमय बनाउने लक्ष्य रहेको बताउनुभयो।

कार्यक्रममा तालिम प्राप्त शिक्षकलाई हवनसमेत गराइएको थियो। कार्यक्रममा धुलिखेल–४ का वडा अध्यक्ष रविन्द्र कर्माचार्य, योगी रमेश श्रेष्ठ, शरिता शाक्यलगायतको उपस्थिति रहेको थियो।