९५ प्रतिशत लागूऔषध प्रयोगकर्ता

0
Shares

विराटनगर, (नेस)। साथीभाइको लहैलहैमा लागेर अधिकांश युवा तथा किशोरहरू लागूऔषधको कुलतमा लाग्ने गरेको देखिएको छ। साथीभाइको अनुरोधलाई टार्न नसक्दा उनीहरू लागूऔषधको दलदलमा फस्ने गरेका छन्।

मोरङ सुन्दरहरैंचाका १४ वर्षीय एक किशोर प्रायः जोगबनी धाइरहन्छन्। स्थानीय विद्यालयमा कक्षा ९ मा अध्ययनरत उनी जोगबनी घुम्न वा सामान किन्न नभई लागूऔषध सेवन गर्न त्यहाँ पुग्ने गरेका हुन्। दुव्र्यसनका कारण कल्कलाउँदो उमेरमै उनलाई सुकेनास लागेको छ।

जोगबनी पुगिरहने ती किशोर पटके प्रहरीको फन्दामा समेत परिसकेका छन्। प्रत्येकपटक उनी लागूऔषधविरुद्धको सचेतनामूलक कक्षामा सहभागी पनि हुन्छन्। आइन्दा लागूऔषध सेवन नगर्ने लिखित वाचापछि पनि गर्छन्।

तर फेरि पनि उनी आफूलाई सम्हाल्न सक्दैनन् र लागूऔषधको खोजीमा जोगबनी पुगिहाल्छन्। जोगवनी पारी लागूऔषधका कारोबारी धराप थापेर बसेकै हुन्छन्। भारतीय प्रहरी पनि सेटिङमा उनीहरूलाई देखेको नदेखै गर्छ। खुलेआम त्यहाँ लागूऔषधको काराबार हुन्छ। प्रायः ग्राहकहरू नेपालकै हुन्छन्।

यी किशोर जस्तै दर्जनौं युवायुवती तथा किशोरहरू लागूऔषध दुव्र्यसन गर्न जोगबनी पुग्ने गरेका छन। जोगबनीमा निर्बाध रूपमा लागूऔषध खरिद र सेवन गर्न पाइने भएका कारण मोरङसहित झापा र सुनसरीका युवायुवती त्यहां पुग्ने गरेका छन्।

लागूऔषध दुव्र्यसन न्यूूनिकरण गर्न दण्डसँजायभन्दा पनि परामर्श र सचेतना प्रभावकारी हुने निष्कर्ष निकालेको प्रहरीले सिमानाका नजिकै क्यान सेन्टरको स्थापना गरेर लागूऔषधविरुद्ध अभियान चलाउँदै आएको छ।

युवायुवती जोगबनी जाने र नशामा लट्ठ भएर सोही बाटो फर्किने भएका कारण प्रहरीले लागूऔषध प्रयोगकर्ताको निगरानी गर्न र उनीहरूलाई केही समयका लागि नियन्त्रणमा राखेर काउन्सिलिङ गर्ने गरेको छ।