महिलामा शुद्धीकरण जरुरी

0
Shares

बुटवल, (नेस)। प्रदेश पाँचको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले समाज रूपान्तरणका लागि महिलाहरूले आफैबाट शुद्धीकरण अभियान चलाउनुपर्ने बताउनुभएको छ।

संस्कृति जोगाउने नाममा भइरहेका बिकृति हटाउन महिलाले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो। बुटवलमा महिलाले सञ्चालन गरेको सामुदायिक रेडियो मुक्तिले मंगलबार बुटवलमा आयोजना गरेको महिला उद्यमशीलता सम्बन्धि अन्तरक्रिया तथा तीज विशेष कार्यक्रममा बोल्दै मन्त्री पौडेलले महिलाले आफ्नो खर्चका लागि आफ्नै गोजीबाट पैसा निकाल्नका लागि पनि महिला स्वयम् उद्यमशिल हुनुपर्ने बताउनुभएको हो।

मन्त्री पौडेलले प्रदेश सरकारले महिलाकालागि महिलामैत्री कानुन बनाइरहेको बताउँदै स्वदेशमा रोजगारी निर्माणमा सरकार गम्भिर रहेको र त्यसमा महिलाहरूले विशेष सहयोग गर्न आग्रह गर्नुभयो।

उहाँले पछिल्लो समयमा संस्कृतिका नाममा विकृति हुने गरेको बताउँदै चाडपर्व गरिबको पहँुचमा पनि रहने गरी मौलिक रूपमा मनाउन आग्रह गर्नुभयो। उहाँले चाडवाडलाई भड्किलो हुनबाट रोक्नका लागि सरकारले कडाई गरेको उल्लेख गर्नुभयो।

मन्त्री पौडेलले रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता अन्त्य गर्नका लागि स्वदेशमै प्रर्याप्त रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।