काठमाडौं, (नेस)। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७६ पारित गरेको छ। मंगलवार बसेको प्रतिनिधिसभाको बैठकले परिचयपत्र विधेयक पारित गरेको हो। बैठकमा गृहमन्त्री रामबहादुर थापाले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५ माथि छलफल गरियोस् भनी राख्नुभएको प्रस्तावलाई सभाले स्वीकृत गरेको थियो।
बैठकमा सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री थापाले सदनमा उठेका आवश्यक विषयवस्तुलाई विधेयकमा समेटिने प्रतिबद्धता गर्नुभयो। ‘राष्ट्रिय परिचयपत्र बहुउपयोगी छ, विश्वका १ सय ५० भन्दा बढी देशले यस्ता परिचयपत्र लागू गरिसकेका छन, राहदानी र नागरिकताबाहेक अन्य परिचयपत्र अब विस्थापित हुनेछ, वैयक्तिक गोपनीयतालाई सुरक्षित गर्ने पाटोमा आशंका गर्नुपर्ने अवस्था छैन,’ –उहाँले भन्नुभयो।
उक्त छलफलका क्रममा सांसदहरूले विधेयक नआउँदै परिचयपत्र बाँड्ने सरकारको कार्यशैलीले संसद्को अपमान गरेको भन्दै असन्तुष्टि जनाएका थिए। सांसद अतहर कमाल मुसलमानले विधेयक नै नल्याइकन राष्ट्रिय परिचयपत्र वितरण भएकोमा आपत्ति जनाउँदै भन्नुभयो– ‘सफ्टवेयर खरिदलगायतका काम भइरहेको विधेयक पास हुन्छ कि ? कि संशोधन हुन्छ ? कि फिर्ता हुन्छ ?’
सांसद रामकुमारी झाँक्रीले राष्ट्रिय परिचयपत्रमा समावेश हुने जानकारीको एकीकृत सूचना संकलन नसकिँदै वितरण गरिएकोमा सरकारको आलोचना गर्नुभयो। सरकारले विधेयक नआउँदै १५ जिल्लामा परिचयपत्र वितरण तथा कार्ड छपाइ गरिसकेको छ।
यस्तै अर्थमन्त्री डा. युवराज खतिवडाले ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस’ भनी राख्नुभएको प्रस्ताव र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्तुत गर्नुभएको विधेयकलाई सभाले स्वीकृत गरेको थियो।











प्रतिक्रिया