दार्चुला, (नेस)। गत माघ २७ गतेबाट विद्युत् उत्पादन शुरू गरेको चमेलिया जलविद्युत् आयोजनाको ३३ केभीए प्रसारण लाइन २३ महिनापछि थालिगाड सब–स्टेसनमा सोमबार चार्ज गरिएको छ।
महाकाली नगरपालिका–७ थालिगाडमा हालसालै निर्माण सम्पन्न सब–स्टेसनमा सोमबार बिहान गोकुलेश्वर थालिगाड २५ किमि ३३ केभीए प्रसारण लाइन चार्ज गरिएको नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रका प्रमुख दयाराम शाहले जानकारी दिनुभयो।
केही महिनाअघि मात्रै ११ केभीए प्रसारण लाइन चार्ज गरिएकोमा सब–स्टेसन निर्माण सम्पन्नपछि ३३ केभीए प्रशारण लाइन चार्ज गरिएको हो । ‘३३ केभीए सर्किट बनाएर सब–स्टेसनमा बत्ती चार्ज गर्र्यौ, भारतीय विद्युतको भर पर्नुपर्ने वाध्यता हट्यो’, शाहले भन्नुभयो।
सब–स्टेसनमा लाइन चार्ज भएसँगै चमेलिया जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् उपभोग गर्नबाट बञ्चित यहाँका स्थानीयले अबदेखि विद्युत् उपभोग गर्न पाउने भएका छन्।
सब–स्टेसन निर्माणका लागि आर्थिक वर्ष २०७३–०७४ मा इनर्जी प्याक इन्जिनियरिङ नरेन्द्र निर्माण जेभीसँग १ वर्षभित्र निर्माण सम्पन्न गरीसक्नेबारे सम्झौता भएको थियो । सब–स्टेसन निर्माणमा झन्डै ७ करोड रुपियाँ खर्च भएको क्षेत्रीय कार्यालय अत्तरीयाका इन्जिनियर चिजबहादुर गुरुङले जानकारी दिनुभयो।
प्रसारण लाइन र थालिगाड सब–स्टेसन निर्माण सम्पन्न भएपछि दिनहुँ अनियमित हुने विद्युत् सेवा अब निरन्तर हुने अपेक्षा गरिएको छ। सन् २००८ मा ठेक्का सम्झौता भई निर्माण शुरू भएको चमेलिया जलविद्युत् आयोजनाको निर्माण कार्य ११ वर्षमा सम्पन्न भएको थियो।
सुदूरपश्चिम प्रदेशकै सबैभन्दा ठुलो आयोजनाको रूपमा रहेको चमेलिया जलविद्युत् आयोजनाको २०७४ माघ २७ गते नेपाली कांग्रेसका सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियो।
आयोजना निर्माणमा १५ अर्ब खर्च भएको थियो। जिल्लाका लाली, जौलजिवी र हुतीबाट भारतीय विद्युत् खरिद गरी उपभोग भैइरहेको छ। दार्चुलामा प्रतियूनिट भारतबाट ११ दशमलव २ रुपियाँका दरले वार्षीक झन्डै साढे २१ लाख यूनिट बिजुली खरिद गरी वितरण गरिँदै आएको वितरण केन्द्र प्रमुख शाहले बताउनुभयो।











प्रतिक्रिया