आर्थिक अभावमा रतिभानको ज्यान जोखिममा युवाको पहलमा ४० हजार संकलन

0
Shares

नेपाल समाचारपत्र, डोटी ।डोटीको केआईसिंह गाउँपालिका–५ रानागाउँका ६० वर्षिया रतिभान ढोलीको आन्द्रामा हर्नियाको समस्या भएको दश बर्ष भयो। मजदुरीको शिलसिलामा भारतमा रहँदा त्यहाँ सामान्य उपचारपछि नेपाल फर्किएको वहाँले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘मैले भारतमा उपचार त गरेँ तर नेपाल फर्किए पछि फेरि समस्या बल्झियो। उपचारको लागि पैसा छैन, अहिले धेरै समस्या भएको छ।’ १० बर्ष पहिलाको समस्या फेरि दोहोरिए पछि उपचारका लागि भारत जाने सोच बनाए पनि आर्थिक अवस्था कमजोर भएका कारण जान नसकेको उहाँले गुनासो गर्नु भयो।

पेटको एक छेउतिर पुच्च परेको भूँडी देखाउँदै उहाँले भन्नुभयो, ‘मैले सहयोगका लागि स्थानीय सरकार सबै निकायसंग सहयोगका लागि आग्रह गरेँ तर कसैले सहयोग गरिसकेका छैनन्।’स्थानीय सरकारले सहयोग नगरेपछी अहिले स्थानीय युवाहरूले उहाँको उपचारका लागि सहयोग रकम संकलन गर्न थालेका छन्।

रकम नहुँदा रतीभानको ज्यान नै खतरामा भएकाले युवाहरूको समूह मिलेर आर्थिक सहयोग संकलन कार्यक्रम सञ्चालन गरिएको रकम संकलन अभियान सञ्चालन गरेका रानागाउँका युवा यज्ञ पार्कीले बताउनुभयो। उहाँले भन्नुभयो, ‘हामीले अहिले दैनिक जस्तो बिभिन्न संघ संस्था तथा व्यक्तिसँग उपचार सहयोगका लागि राहत रकम जुटाईरहेका छौँ, सबैले सहयोग गरे उहाँको ज्यान जोगिन्थ्यो।’

चिकित्सकका अनुसार रतीभानको उपचारका लागि दुईलाख रुपैँया आबश्यक पर्ने अनुमान गरिएको छ। युवाहरूको आर्थिक संकलन अभियानले अहिलेसम्म करीव ४० हजार संकलन भइसकेको छ। रतीभान स्थानीय देबीका धामी समेत भएको उहाँका आफन्तले बताएका छन्।