दुर्गाप्रसाद शर्मा, पर्वत। पर्वत जिल्लाको सदरमुकाम कुस्मादेखि टाढा रहेको सुदूर दक्षिणी क्षेत्र पैयूँका बासिन्दाले सुविधा सम्पन्न अस्पतालको माग गरेका छन्। सामान्य उपचारका लागि पनि छिमेकी जिल्लाको स्वास्थ्य संस्थामा धाउनुपर्ने भएका पैयूँवासीहरूले हुवासमा सुबिधा सम्पन्न अस्पताल बनाउन माग गरेका हुन्।
पैयूँ गाउँपालिकाभित्रका बासिन्दाले स्वास्थ्य चौकीपछिको उपचार सेवा लिन वालिङ वा पोखरा धाउन बाध्य छन्। जिल्ला अस्पतालदेखि टाढा रहेका स्थानीयवासीले ल्याव, एक्स–रे र भिडियो एक्स–रेको सेवा समेत स्थानीय स्तरमा उपलब्ध नहुँदा सास्ती बेहोर्दैआइरहेको बताएका छन्। यसले उपचार खर्चिलो हुने गरेको र सामान्य परिवारको पहुँचमा समेत नहुने गरेको स्थानीयबासीको भनाइ छ।
पैयूँ सरौखोलाका नीलकण्ठ तिवारीले सरकारले स्वास्थ्य सेवा विस्तार गर्ने रणनीति लिँदा पैयूँमा सुविधा सम्पन्न अस्पतालको आवश्यकता भएको दर्शाउनुभयो। उहाँले अस्पताल नहुँदा उपचारमा पैयूँवासीले सधै समस्या बेहोर्दै आइरहेको तर्फ साँसद्को ध्यानाकर्षण गराउनुभयो। ‘अस्पतालको अभावमा अकालमा ज्यान जाने खतरा छ’, तिवारीले भन्नुभयो, ‘अस्पताल बनाउनका लागि चौतर्फी पहलको आवश्यकता छ।’
हुवास आसपासमा अस्पताल बनाउँदा बिहादी र महाशीला गाउँपालिका बासिन्दा र स्याङजा जिल्लाका बासिन्दा समेत लाभान्वित हुनेछन्। पैयूँ क्षेत्रका बासिन्दाले दक्षिण क्षेत्रमा पुगेका संघीय सांसदद्वय पदम गिरी र यशोदा सुवेदीसँग अस्पताल बनाउनका लागि पहलगर्न आग्रह गरे।
गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले विशेषज्ञ डाक्टरसहितको सुविधा गाउँपालिकाको लागि आवश्यक रहेको बताउनुभयो। उहाँले गाउँपालिकाभित्रका जनतालाई भरपर्दो स्वास्थ्य सेवा दिनका लागि गाउँपालिकाभित्रै अस्पताल निर्माण गर्न आवश्यक भएको कुरा प्रष्ट पार्नुभयो।
सातवटा वडा रहेको पैयूँ गाउँपालिकामा हाल ६ वटा स्वास्थ्यचौकी रहेका छन्। त्यहाँबाट प्राथमिकबाहेकका उपचार सेवा उपलब्ध छैनन्। अस्पताल निर्माण गर्दा विशेषज्ञ सेवा प्राप्त हुनेमा स्थानीयवासी आशावादी बनेका छन्।
पैयूँ गाउँपालिकाका स्थानीयले गाउँपालिकाभित्र सुविधा सम्पन्न अस्पताल निर्माणको माग गरेपछि संघीय सांसद् पदम गिरीले अस्पताल निर्माण हुने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। सांसद् गिरीले आफ्नो बाँकी चार वर्षको कार्यकालभित्र कम्तीमा अस्पताल भवनको शिल्यान्याससम्म हुने प्रतिवद्धता व्यक्त गर्नुभयो।
‘अस्पताल निर्माणकार्य सकिन्छ म भन्दिन, अस्पताल भवनको शिल्यान्यास म गरेरै छाड्छु।’ उहाँले भन्नुभयो ‘पैयूँ क्षेत्रमा सडक पूर्वाधारपछि अस्पतालको माग ठूलो मात्रामा उठेको हुँदा सबैको ध्यानाकर्षण भएको छ।’
‘अस्पताल निर्माणकार्य सकिन्छ म भन्दिनँ, अस्पताल भवनको शिल्यान्यास म गरेरै छाड्छु।’ सांसद गिरीले भन्नुभयो– ‘पैयूँ क्षेत्रमा सडक पूर्वाधारपछि अस्पतालको माग ठूलो मात्रामा उठेको हुँदा सबैको ध्यानाकर्षण भएको छ।











प्रतिक्रिया